काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य फेरि बढाएको छ ।
निगमले शुक्रबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समान प्रतिलिटर १५ रुपैयाँ बढाएको हो ।
निगमले इन्धनको मूल्य बढाएको पछिल्लो २० दिनमा यो तेस्रो पटक हो । यसअघि निगमले चैत १ गते र १२ गते मूल्य बढाएको थियो ।
मूल्य समायोजनसँगै पेट्रोलको भाउ पहिलो वर्गका लागि प्रतिलिटर १९९.५० रुपैयाँ, दोस्रो वर्गमा २०१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर २०२ रुपैयाँ कायम भएको छ ।
नेपाली बजारमा पेट्रोलको मूल्य २०० रुपैयाँ पुगेको यो पहिलो पटक हो । यसअघि सन् २०२२ मा रुस युक्रेन युद्धको बेला १९९ रुपैयाँसम्म पुगेको थियो ।
त्यस्तै, डिजेलको मूल्य बढेसँगै पहिलो वर्गका लागि प्रतिलिटर १७९.५० रुपैयाँ, दोस्रो वर्गमा १८१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १८२ रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।
अमेरिका-इजरायल-इरान बीचको युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्य बढिरहेको छ । पछिल्लो समयको मूल्य वृद्धिलाई प्रक्षेपण गर्दा १५ दिनमै ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने देखिएपछि मूल्य बढाउनु परेको निगमले जनाएको छ ।
निगमका अनुसार मार्च १६ देखि ३१ सम्म नेपालले खरिद गर्ने पेट्रोलको मूल्य प्रतिलिटर ४७.१२ रुपैयाँ, डिजेलको १३३.४५ रुपैयाँ र खाना पकाउने ग्यासका ४१६.३७ रुपैयाँ बढेको छ । तर, उपभोक्तको हितलाई मध्येनजर गर्दैै कम मात्रमा मूल्य बढाइएको निगमले जनाएको छ ।


