काठमाडौं । अहिले बजारमा सर्वाधिक चर्चा र बिक्री भइरहेको एसयूभीमा बीवाइडी एटो टु र आइकार भी २३ मोडल पर्छन् । यी दुवै एसयूभी धेरै बिक्री हुनुको पछाडि कयौं कारण छन् ।
पहिलो कारण दुवैै कारको ग्राउण्ड क्लियरेन्स हो । बीवाइडीले पहिलो पटक आफ्नो एसयूभीमा २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स दिएको छ । उच्च ग्राउण्ड क्लियरेन्सकै कारण अहिले बजारमा सर्वाधिक बिक्री भइरहेको मोडलमा एटो टु पर्छ ।
एटो टुले निकै राम्रो बजार पाइरहेको समयमा आएको आइकार भी २३ मा २१० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स छ । जुन नेपालका खराब बाटोमा पनि कतै छुँदैन । त्यसैले यी दुवैै एसयूभीको बिक्री हुनुमा पहिलो कारण ग्राउण्ड क्लियरेन्स हो ।
यी दुवैै एसयूभी धेरैले रोज्नुको अर्को कार रेन्ज हो । बीवाइडीले आफ्नो चर्चित ब्लेड टेक्नोलोजीमा आधारित ब्याट्री एटो टुमा दिएको छ । ५१ किलोवाट आवरको ब्याट्री रहेको एसयूभीले जस्तोसुकै अवस्थामा पनि सडकमा चलाउँदा ३०० देखि ३३० किलोमिटरसम्मको रेन्ज दिन्छ ।

आइकार भी २३ मा ५९.९ किलोवाट आवरको ब्याट्री छ । यसले पनि जस्तोसुकै बाटोमा पनि ३०० देखि ३४० किलोमिटरसम्म रेन्ज दिन्छ । त्यसैले यी दुवैै एसयूभी रेन्जको मामलामा पनि राम्रा छन् । एक अर्काको प्रतिस्पर्धी नै हुन् ।
धेरै कुरामा समानता भए पनि फरक कुरा पनि यी दुई बीच धेरै नै छन् । डिजाइन, मूल्य र ड्राइभिङ अनुभवका आधारमा भने यी दुई बीच ठूलो अन्तर छ ।
डिजाइन
आइकार भी २३ बक्सी डिजाइनमा तयार भएको एसयूभी हो । जबकि एटो टु परम्परागत डिजाइनको एसयूभी हो ।
अगाडिबाट हेर्दा नै आइकार भी २३ रेट्रो क्लासिक डिजाइनमा देखिन्छ । यसको बडी सेप, अगाडिको बम्पर, बोनेट र पछाडिको टेलगेटसम्म फरक छ ।

एटो टु आफ्नो चर्चित एसयूभी एटो थ्रीको मिनी भर्सन जस्तो लाग्छ । यसलाई कम्पनीले आफ्नो चर्चित ई प्लेटफर्ममा तयार पारेको हो । बाटोमा रहेका चल्तीका एसयूभीसँग यसको डिजाइन मिल्दोजुल्दो छ ।
मूल्य
यी दुई मोडलको बीचमा मूल्य पनि ४ लाख रुपैयाँको अन्तर छ । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले ४५ लाख ९९ हजार रुपैयाँ तोकेर एटो टु बिक्री गर्दै आएको छ ।
आइकार भी २३ एसपीजी अटोमोबाइल प्रालिले सुरूमा ४७ लाख ९९ हजारमा ५० जना उपभोक्तालाई दिएको थियो । त्यसपछि कम्पनीले ४९ लाख ९९ हजार मूल्य बनाएर बिक्री गर्दै आएको छ ।

कुन किन्दा बढी फाइदा ?
यी दुई मध्ये कुन गाडी किन्दा बढी फाइदा पाइन्छ होला भन्ने जिज्ञासा तपाईंको मनमा छ भने दुवैै अहिले बजारमा चल्तीका मोडल हुन् । दुवैैको मूल्य आकर्षक छ । फिचरहरू राम्रा छन् ।
यी दुई मध्ये कुन किन्ने भन्ने कुरा चाहिँ तपाईलाई कस्तो डिजाइन मनपर्छ भन्ने कुराले निर्धारण गर्छ । यदि, तपाईको छनोट लाइफ स्टाइल भेहिकल हो भने आइकार भी २३ ठिक हुन्छ । होइन, परम्परागत डिजाइनको एसयूभी खोज्नु हुन्छ भने तपाईंको लागि आइकार होइन, एटो टु उपयुक्त हुन्छ ।

दुवैै गाडीका बिक्रेता बलिया छन् । नेटवर्क विस्तार बलियो छ । सर्भिस लगायतमा लगानी बढाउँदै लगेका छन् । त्यसले उपभोक्तालाई ढुक्कले कार किन्न सक्ने बनेको छ ।

