काठमाडौं । मूल्य, फिचर, डिजाइन र ब्राण्डका आधारमा प्रिमियम भनिएका ईभीहरूको बिक्री निकै सुस्त छ । त्यसैले त्यस्ता गाडीको आयात ठप्प प्रायः देखिएको हो ।
तपाईंले १ करोड मूल्य माथि पर्ने ईभी किन्न खोज्नु भयो भने बजारमा पाइने मोडलहरूबाट थोरै मात्रै नाम आउँछ । त्यही नाम आउने विद्युतीय क्रसओभरहरूको आयात सन् २०२५ लागेपछि एक युनिट पनि हुन सकेको छैन । कम्पनीहरूले सन् २०२४ मै ल्याएको गाडी अहिले बिक्री गर्दै आएका छन् ।
एसयूभी सेग्मेन्टमा चिनियाँ ब्राण्डहरूले उपलब्ध गराएको अधिकांश मोडलको मूल्य ४० लाखदेखि ७५ लाख भित्रै भएको कारण त्योभन्दा माथि उक्लेर ईभी किन्ने निर्णय उपभोक्ताले अहिलेसम्म गर्न सकेका छैनन् । त्यसैले दुई कोरियन ब्राण्डका ईभीहरूले सोचे अनुसार बिक्री पाउन सकेका छैनन् ।
खासगरी कोरियन कारहरू मूल्यको हिसाबले केही बढी लाग्छन् । तर, उनीहरूले बनाएको प्रोडक्ट पूरै युरोप र अमेरिकी बजारमा स्वीकार्यता भएको पाइन्छ । त्यसका बाबजुद पनि नेपाली उपभोक्ताको छनोटमा महँगाभन्दा कम मूल्यका ईभी परेका छन् । नेपालीको आर्थिक हैसियतले जुन स्वभाविक पनि हो ।
नेपालमा इलेक्ट्रीक एसयूभीको बजारलाई चलायमान बनाउने हुन्डाईको प्रिमियम मोडल आयोनिक-फाइभको अवस्था पनि त्यस्तै छ । सुरूमा ८० लाख रुपैयाँ मूल्य तोकेर बिक्री सुरू भएको आयोनिक-फाइभ त्यसपछिको बजेटले कर वृद्धि गर्दा १ कारोड १७ लाख रुपैयाँ मूल्य पुग्यो ।
मूल्य बढेसँगै यसको बिक्री पनि निकै ‘स्लो’ भयो । सुरुवाती केही महिनामै ६० युनिट आयात भएको आयोनिक-फाइभ त्यसपछि २०२३ मा ३८ युनिट र सन् २०२४ मा २२ युनिट आयात भएको देखिन्छ ।
सन् २०२५ लागेसँगै आयोनिक-फाइभ अहिलेसम्म आयात भएको छैन । आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार अब आउन लागेको आयोनिक-फाइभ १०० किलोवाटको इलेक्ट्रीक मोटरमा आउने छ । कम्पनीका अनुसार अहिले सानो मोटर भएको आयोनिकको बुकिङ चलिरहेको छ ।
किया ईभी-सिक्स अर्को निकै चर्चित क्रसओभर एसयूभी हो । हुन्डाई आयोनिक र ईभी-सिक्स एउटै प्लेटफर्ममा बनेका दुई क्रसओभर हुन् । सन् २०२३ मा नेपाल आएको ईभी-सिक्स अहिलेसम्म केबल ४० युनिट आयात भएको छ । सन् २०२५ लागेपछि ईभी-सिक्सको आयात पनि ठप्प छ ।
चिनियाँ ब्राण्ड अवतार सन् २०२४ मा नेपाल प्रवेश गरेको हो । नेपालका दुई ठूला व्यवसायिक घरानाको संयुक्त लगानीमा आएको अवतार ब्राण्डमा पहिलो लट ४४ युनिट अवतार-इलाभेन मोडल आएको थियो । त्यसपछि कम्पनीले दोस्रो लट अहिलेसम्म ल्याएको छैन ।
एमएडब्लू ग्रुप र सिजी मोटर्सले मिलेर ल्याएको अवतार ब्राण्ड अहिले सीजीले बिक्री गर्दै आएको छ । सम्भवतः यसको डिलर चाँडै परिवर्तन हुन सक्ने हल्ला बजारमा सुन्न पाइन्छ ।