काठमाडौं । कम मूल्यका बिद्युतीय कारको उत्पादन नै घट्दै गएको छ । केही वर्ष अगाडिसम्म विद्युतीय कार भनेकै साना सिटी केन्द्रित कार हुन् भन्ने जस्तो थियो । अब फेरिएको समयसँगै साना कारहरूको उत्पादन नै कमजोर भएको हो ।
सन् २०१० मा निसानले इलेक्ट्रीकमा लीफ सेडान ल्याउँदा टेस्ला त्योभन्दा प्रिमियम गाडी इलेक्ट्रीकमा ल्याउन तयार थियो । निसान लीफ र टेस्लाको बजार प्रवेशसँगै साना र ठूला विद्युतीय कारको परिकल्पनाले आकार ग्रहण गरेको हो ।
नेपालमा पनि ईभीको सुरूवात सानै गाडीबाट भएको हो । रेभा, महिन्द्रा इटुओ जस्ता मोडल ईभीको रूपमा आए । त्यसपछि एसयूभी हुँदै साना र ठूला ह्याचब्याक कारको दर्जनौं ईभी मोडल बिक्रीका लागि उपलब्ध भए । तर, साना ईभीको बिक्री क्रमशः कमजोर बन्दै गएको छ ।
साना ईभीको सेग्मेन्टमा थुप्रै नाम नै उच्चारण गर्न कठिन पर्ने चिनियाँ कम्पनीका उत्पादन पनि नेपाल आए । ती आएका अधिकांश उत्पादन अहिले बन्द भएका छन् । जसले किनेका छन्, उनीहरू पनि पछुताउनुको अर्को विकल्प अब बाँकी रहेन । केही चल्तीका ब्राण्डले ल्याएका मिनी ईभीहरू अहिले पनि बजारमा छन् । त्यसमा एमजी कोमेट छाडेर अन्यको अवस्था खासै बलियो हुन सकेको छैन ।
मिनी कारभन्दा माथिल्लो सेग्मेन्टमा आएका इलेक्ट्रीक ह्याचब्याकहरूले बजारमा राम्रै स्थान पाउने देखिएको थियो । तर, त्यो सेग्मेन्ट पनि १० प्रतिशत हाराहारीभन्दा बढि हुन सकेको छैन ।
चीनमै उत्पादन कमजोर
चीनमै साना ईभीको उत्पादन कमजोर हुँदै गएको छ । अर्को चीन सरकारले निर्यातको लागि अनिर्वाय स्विकृति लिनु पर्ने नियम बनाएसँगै साना ईभीको उत्पादन झनै कमजोर हुने देखिन्छ ।
चीनमा ईभी उत्पादन गर्ने कम्पनीहरुको ध्यान ठूला उत्पादनमा परेको छ । त्यसैले त चिनियाँ कम्पनीले बनाएका ईभीको औषत रेन्ज ५३८ किलोमिटर पुगिसकेको छ । उनिहरु साना ईभी उत्पादनबाट क्रमशः बाहिर निसकन लागेको अनुमान लगाउन सकिन्छ ।
नेपालमा ठूला ह्याचब्याक नै कमजोर हुँदै
चीन बाहेक अन्य देशमा उत्पादन हुने मिनी ईभीको मूल्य महँगो हुने भएको कारण नेपाल जस्ता देशमा तेस्रो मुलुकमा बनेका साना ईभी बिक्री गर्न सकिँदैन । टाटा टियागो, बीवाइडी डल्फिन र विलिङ विङ्गो जस्ता ह्याचब्याक कारको बजार ओरालो लागेको अवस्थामा यीभन्दा साना ईभीले बलियो बिक्री पाउने सम्भावना कम छ ।
नेपालमा बढ्दो एसयूभी क्रेज र एसयूभीको प्रतिस्पर्धी मूल्यको कारण ईभी किन्नेको रोजाइमा एसयूभी नै पर्न थालेको छ । पछिल्ला दिनमा ३५ लाखदेखि ५० लाख मूल्यमा निकै आकर्षक एसयूभीहरु किन्न पाइन्छ । त्यसैले धेरै उपभोक्ता साना कारबाट टाढा जान खोज्दैछन् ।
पहिलो गाडी किन्ने सेकेन्ड ह्याण्ड बजारमा
खासगरी मिनी वा फ्यामली ह्याचव्याक किन्न २० देखि ३० लाख रुपैयाँ तिर्नु पर्छ । सानो मोटर, सानो ब्याट्री र २०० किलोमिटरभन्दा कम रेन्जमा आउने साना गाडीमा पहिलो कार किन्नेको आँखा नै जाँदैन ।
नेपालको भौगोलिक अवस्थाको कारण आफूसँग भएको गाडी लिएर धेरै स्थानमा यात्रा गर्नु पर्ने भएको कारण धेरै मानिस सेकेन्ड ह्याण्ड बजारमा पेट्रोलबाट चल्ने कार नै किन्न चाहन्छन् । त्यसैले धेरैको लागि उत्तम विकल्प सेकेन्ड ह्याण्ड बजार बनिरहेको छ ।

