होन्डाको नयाँ १२५ सीसीको बाइक किन छ खास ? नेपाल पनि आउन सक्ने

काठमाडौं । होन्डाले भारतीय बजारलाई ध्यानमा राखेर नयाँ १२५ सीसीको मोटरसाइकल लन्च गरेको छ । होन्डाको मोटरसाइकल सिरिजमा चर्चित नाम हर्नेटको १२५ सीसी भर्सन २०२५ अक्टोबर एक तारिखमा लन्च भएको हो ।

होन्डा हर्नेट १६० र २.० पछि आएको १२५ तेस्रो मोडल हो । यसलाई कम्पनीले सिबी १२५ हर्नेट भनेको छ । निकै प्रिमियम लुकमा देखिएको हर्नेट १२५ फिचरका हिसावले पनि उत्कृष्ट छ । यसमा गोल्डन कलरको यूएसडी फर्क, निकै सार्प डिजाइनमा फ्यूल ट्याङ र एङ्गुलर हेडल्याम्पको सहायताले निकै मोर्डन फ्रन्ट लुक्स देखाएको छ ।

होन्डाको ग्लोबल मोडल हर्नेट ७५० बाट प्रेरित डिजाइन यसको सबैभन्दा बलियो पक्ष हो । हेडल्याम्पसँगै दिइएको डे टाइम रनिङ लाइट, हाइ बीम लाइट, एलइडी इन्डिकेटर लाइट, निकै स्टाइलिस एग्जस्ट र स्प्लीट सिटले यसलाई लाइफ स्टाइल मोटरसाइकलको रुपमा झल्काएको छ ।

फिट एण्ड फिनिसमा सिबी १२५ हर्नेटलाई दुरुस्त बनाउन कम्पनीले कुनै कसर बाँकी राखेको छैन । विभिन्न चार कलर अप्सनमा सिबी १२५ हर्नेट उपलब्ध छ ।

होन्डाले स्पोर्टी मोडलको रुपमा ल्याएको १२५ हर्नेटको सिट हाइट ७९६ एमएम, ह्वील वेस १३३० एमएम, कर्ब वेट १२४ केजी र फ्यूल ट्याङ्क १२ लिटरको छ ।

होन्डाले नयाँ मोटरसाइकलमा प्रयोग गरेको १२४ सीसी सिंगल सिलिण्ड एयर कुल्ड इन्जिनले ११ हर्सपावर प्रदान गर्छ । यसको पीक टर्क पनि ११ न्यूटन मिटर नै छ । निकै स्मुद एसिलेरेसनको कारण यसलाई मिड रेन्ज पर्फमेन्स मोटरसाइकल पनि भनिएको छ ।

सिबी १२५ हर्नेटको पर्फमेन्स ठिकठाक छ । मोटरसाइकललाई सून्यदेखि ४० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन २.७ सेकेन्ड लाग्छ भने ८० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्न ११.३ सेकेन्ड लाग्छ । यसको अधिकतम स्पीड क्षेमता ११२ किलोमिटरसम्म रहने छ ।

यसलाई विभिन्न चरणको माइलेज टेस्टमा पनि उतारिएको छ । ७० किलोमिटर प्रतिघन्टाको क्रुजिङ मोडमा यसलाई चलाउँदा हाइवेमा ६९ किलोमिटरसम्म प्रतिलिटर माइलेज पाइएको जनाएको छ । सहरी क्षेत्रमा प्रतिलिटर ५९ किलोमिटरसम्म माइलेज दिने छ ।

ब्रेकिङको लागि १२५ हर्नेटमा अगाडि २४० एमएम डिस्क र पछाडि १३० एमएम ड्रम ब्रेक दिइएको छ । यसमा अगाडि ८०/१००-१७ र पछाडि ११०/८०-१७ टायर लाग्छ ।

निकै ट्रेडिस्नल मानिने होन्डाले सिबी १२५ हर्नेटमा डिजिटल टीएफटी डिस्प्ले दिएको छ । जहाँ ब्लूटुथ कनेक्टीभीटी, होन्डा रोड साइन एप, म्यासेज अर्लट, टर्न वाइ टर्न नेभिगेसन चलाउन सकिन्छ । साइलेन्स स्टार्ट सिस्टम, यूएसबी टाइप सी चार्जिङ पोर्ट, सिंगल च्यानल एबीएस जस्ता फिचर यसमा छन् ।

भारतमा यसको मूल्य १ लाख ३ हजार भारतीय रुपैयाँ रहेको छ । सम्भवत चाँडै नेपाली बजारमा पनि यसको बिक्री सुरु हुने अनुमान गर्न सकिन्छ । नेपालमा होन्डाका मोटरसाइकल तथा स्कुटर स्याकार ट्रेडिङ कम्पनीले बिक्री वितरण गर्दै आएको छ ।


Back_to_top