काठमाडौं । विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति साढे ७ अर्ब रुपैयाँ बढी ऋण उपलब्ध गराउने भएको छ ।
विश्व बैंकका कार्यकारी निर्देशकहरूको बैठकले नेपाललाई ५ करोड २० लाख अमेरिकी डलर ( ७ अर्ब ६२ करोड रुपैयाँ) ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो ।
वासिंगटनडिसीस्थित विश्व बैंकको प्रधान कार्यालयका अनुसार वायु प्रदूषणको जोखिम उच्च जोखिम भएका काठमाडौं उपत्यकाका साथै तराईका केही भागमा ‘नेपाल क्लिन एयर एन्ड प्रस्पेरिटी प्रजेक्ट’ संचालन गर्न उक्त रकम अनुमोदन गरिएको हो ।
परियोजना अन्तर्गत करिब ४०० औद्योगिक र व्यावसायिक उद्यमलाई धूवाँरहित बनाइनेछ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उद्योग विभाग र वन तथा वातावरण मन्त्रालयका साथै वातावरण विभागमार्फत उक्त परियोजना कार्यान्वयन गरिने विश्व बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

