निर्वाचनका दिन यी ८ प्रकारका सवारीलाई पास नचाहिने

फाइल तस्बिर । चीन सरकारले अनुदानमा बनाइदिएको चक्रपथको पहिलो खण्ड कोटेश्वर-कलंकी सडक ।

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका दिन ८ प्रकारका सवारी साधन अनुमति नलिई संचालन हुन पाउने जनाएको छ ।

आयोगले एक विज्ञप्ति जारी गर्दै पास नचाहिने सवारी साधनहरुको सूची सार्वजनिक गरेको हो ।

आयोगका अनुसार अत्यावश्यक सेवाका दमकल, एम्बुलेन्स, शववाहन, खानेपानीका ट्यांकर दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, दूरसञ्चार सेवा, खानेपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधनलाई पास चाहिँदैन ।

त्यस्तै, अस्पताल सेवाका सवारीसाधनहरू (अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न), अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाइ सेवाका यात्रु बोकेका सवारीसाधन (विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्म)लाई पास नचाहिने आयोगले जनाएको छ ।

त्यसैगरी, हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, बच्चा बोकेकी महिला, ज्येष्ठ नागरिक, किरियापुत्री, शारीरिक रूपले अशक्त वा अपांगता भएका व्यक्ति र निजका एकजना सहयोगी बोकेका सवारीसाधनलाई पनि पास चाहिँदैन ।

त्यसैगरी, नम्बर प्लेटमा सीडी उल्लेख भएका कूटनीतिक नियोगका सवारी साधन, आयोगबाट जारी भएका पर्यवेक्षक परिचयपत्रवाहक पर्यवेक्षणकर्ताले प्रयोग गर्ने सवारीसाधन (सो परिचयपत्रमा उल्लिखित स्थानमा मात्र), राष्ट्रिय मानव अधिकार आयोगबाट अनुगमन/पर्यवेक्षणका लागि प्रयोग गर्ने सवारीसाधन र प्रेस पास भएका संचारकर्मीका सवारी साधन लागि पास नचाहिने विज्ञप्तिमा उल्लेख छ ।

आयोगले निर्वाचनका दिन सार्वजनिक र निजी सवारी संचालनमा भने रोक लगाएको छ ।


Back_to_top