यी काम नगरी कार किन्ने काम नगर्नुस्

काठमाडौं । बजारमा दर्जनौं ब्रान्डहरू र सयौं मोडेलका कारहरू उपलब्ध छन् । जसका कारण आफुले कार खरिद गर्ने समयमा कुन कार किन्ने भन्ने अन्योल हुन्छ । जुन स्वभाविक पनि हो । 

नयाँ कार किन्नु एक अनौठो अनुभव पनि हो । कार किन्नु भनेको जीवनको कमाईको ठूलै अंश खन्याउनु पनि हो । त्यसैले पनि कार किन्नुभन्दा अगाडि धेरै कुराहरू विचार गर्न आवश्यक छ । 

नयाँ वा पुरानो ? 

कार किन्ने निर्णय तपाईंको पहिलो कदम हो । अब त्यसपछि तपाईंको बजेटमा निर्भर हुन्छ, कुन र कस्तो सुविधाको कार किन्ने भन्ने विषय । तपाईं प्रयोग भइरहेको कार पनि अवस्था हेरेर किन्न सक्नुहुन्छ । 

नयाँ कार किन्दा तपाईंलाई तीन वर्षसम्म कम्तीमा बनाउने झन्झटबाट मुक्ति मिल्छ भने प्रयोग भइरहेको कार किन्दा तपाईंलाई सुरुमै ठूलो रकम खन्याउनुपर्ने अवस्थाबाट पार पाउन सक्नुहुन्छ । त्यसैले नयाँ वा प्रयोग भइरहेको कार जुन किने पनि तपाईंमै निर्भर हुने मुख्य विषय हो । 

सबैभन्दा महत्वपूर्ण भनेको तपाईं सिकारु हो भने पुरानो प्रयोग भइरहेको कार किन्न उपयुक्त हुन्छ । त्यसपछिका केही वर्षपछि नयाँ कार किन्दा तपाईको पैसा बचत हुन्छ । 

यदि तपाईं पुरानो कार नकिन्ने र नयाँ कारमा जाने हो भने कुनै प्रकारको वारेन्टीको अपेक्षा गर्नुपर्छ । त्यसका लागि पछि लाग्ने खर्च तथा झन्झटबाट मुक्ति मिल्छ । 

 डिजेल, पेट्रोल वा अन्य 

तपाईंको कार किन्नुभन्दा पहिले अब डिजेल इञ्जिन वा पेट्रोल इञ्जिन वा अन्य जस्तै इलेक्ट्रीक, हाइब्रिड गाडी कुन किन्ने भन्ने विषयमा निर्णय लिन आवश्यक छ । जसमा सबैका आफ्नै विशेषताहरू रहेका छन् । 

डिजेल इञ्जिन दीर्घकालको लागि खर्च कम गर्न खरिद गरिन्छ भने तत्कालको रकम कम गर्न पेट्रोल इञ्जिन हेर्ने गरिन्छ । त्यसमा दुईमध्ये तपाईंको अवस्था र खर्च हेरेर निर्णय लिनुहोस् । पछिल्लो समय संसारभर इलेक्ट्रीक तथा हाइब्रिड गाडीहरू प्रयोग बढ्दै गएको छ । यसकारण तपाईंले कुन इञ्जिनको गाडी किन्ने भन्ने विषय गाडी किन्नुभन्दा अगाडि टुंग्यानुहोस् । 

गाडीको कुन सेगमेन्टको किन्ने 

अब गाडी कुन इञ्जिनको किन्ने निर्णय गरेपछि अब कुन सेगमेन्टको गाडी किन्ने भन्ने निर्णय लिनुहोस् । तपाईंले ह्याचव्याक, सेडान, स्र्पोटिज् तथा सीयूभी कुन सेगमेन्टका गाडी किन्ने भन्ने विषयमा निर्णय लिनुहोस् । सबै सेगमेन्टका आफ्नै विशेषता रहेकोले तपाईंलाई उपयुक्त हुने सेगमेन्ट रोज्नुहोस् । 

टेष्ट ड्राइभ गर्नुहोस् 

तपाईंले आफुले खरिद गर्न सक्ने केही ब्रान्डका गाडीको टेष्ट ड्राइभ गर्नुहोस् । जसबाट तपाईंलाई गाडी खरिदका लागि निर्णय लिन सहज हुन्छ । कम्तीमा गाडी खरिद गर्ने निर्णय गर्नुभन्दा अगाडि ५ वटा गाडीको टेष्ट ड्राइभ गर्नुहोस् । 

ब्रान्डको छनोट गर्नुहोस् 

तपाईंले सेगमेन्टको छनोट गरिसकेपछि अब कुन ब्रान्डको गाडी किन्ने भन्ने विषयमा निर्णय लिनुहोस् । जसका इन्टरनेटबाट पनि धेरै गाडीका फिचर्सहरू अध्ययन गनुहोस् ।

इञ्जिनको क्षमता, गाडीको मूल्य, वारेन्टीजस्ता सुविधा सबै गाडीको सोरुममा जानुभन्दा अगाडि नै हेर्नुहोस् र शोरुममा पुगेपछि प्रश्नहरू धेरै गर्नुहोस् । 

 गाडी खरिदपछिको सुविधा 

गाडी किन्नुभन्दा पनि खरिद गरेपछि उपभोक्ताले के सुविधा पाउँछन् भन्ने विषय महत्वपूूर्ण हो । गाडी खरिद गरेपछि मर्मतका लागि सर्भिस सेन्टर, स्पेयर्स पार्ट्स, वारेन्टीलगायतका विषयहरूमा जानकारी लिनुहोस् । नत्र गाडी खरिदपछि पछुताउनुबाहेक विकल्प हुदैन । पछिल्लो समय गाडी बिक्रेता तथा उत्पादकहरूको ध्यान पनि आफ्टर सेल्स सर्भिसमा केन्द्रित रहेको छ । 

भुक्तानी कसरी गर्ने ? 

अब तपाईं कसरी खरिद गर्ने भन्ने विषय आउँदछ । यदि तपाईसँग पूरै नगद छ र खरिद गर्न समस्या छैन भने यो विषयमा जानकारी लिन आवश्यक छैन । तर, गाडी भनेको अटो लोनबाटै विश्वभर बढी खरिद गरिन्छ । 

गाडीमा विश्वमा १० प्रतिशतको डाउनपेमेन्टमा पनि गाडी खरिद गर्न सकिन्छ । नेपालको सन्दर्भमा भने अहिले ४० प्रतिशत पहिले गाडीको रकम बुझाउनु पर्दछ । अहिले नेपालमा १२ प्रतिशतसम्म व्याजदर रहेको छ । 


Back_to_top