काठमाडौं । भारतको ठूलो दुई पांग्रे सवारी उत्पादक कम्पनी हिरो मोटोकर्प र होन्डा केही वर्ष पहिलेसम्म पर्टनर थिए ।
भारतीय बजारमा हिरोसँग साझेदारी गरेर आएको थियो जापानी दुई पांग्रे सवारी निर्माता कम्पनी होन्डा । तर अहिले हिरोको मुख्य प्रतिस्पर्धी नै होन्डा बनेको छ । अझ भनौं घरेलु कम्पनी हिरोको सहारामा भारत प्रवेश गरेको होन्डा अहिले त्यही कम्पनीका लागि चुनौती बनेको छ ।
२०१८ को अप्रिलमा होन्डाको कुल बिक्री ६ लाख ८१ हजार ८ सय ८८ रहेको छ भने हिरोको कुल बिक्री ६ लाख ९४ हजार २२ वटा रहेको छ । होन्डाको बिक्री वृद्धि हालसम्मकै सर्वाधिक १८ प्रतिशत हुँदा अप्रिलमा हिरोको बिक्री वृद्धि १६.५ प्रतिशतमा सिमित रहेको छ । यसले के देखाउँछ भने हिरो र होन्डा बीचको बिक्री अन्तर ज्यादै न्यून छ ।
यो हिरोका लागि सबैभन्दा चुनौतिको विषय हो । यही रफ्तारमा होन्डाले बिक्री वृद्धि बढाउँदै लग्यो भने चालू आर्थिक वर्षमै भारतको १ नंबर दुईपांग्रे सवारी कम्पनी हिरोलाई होन्डाले पछार्ने छ । होन्डा मोटरसाइकलले बजाज अटोलाई बिक्रीमा यस अघि नै उछिनि सकेको थियो ।
होन्डाले २०१८ को अप्रिलमा भारतको आन्तरिक बजारमा २ लाख १२ हजार २ सय ९२ मोटरसाइकल बिक्री गरेकोमा बजाज अटोले सोही अवधिमा २ लाख ७ सय ४२ वटा मोटरसाइक बिक्री गरेको हो ।
२६ वर्षको सहयात्रा
जापानी दुईपांग्रे सवारी उत्पादक कम्पनी होन्डा भारतमा सन् १९८४ मा भारतीय कम्पनी हिरो साइकलसंगको साझेदारीमा भित्रिएको हो । साझेदारी पछि दुई कम्पनीले हिरो–होन्डा ब्रान्डका रुपमा आफ्नो परिचय बनाएका थिए । बजारमा आएका दुईपांग्रे सवारी हिरोहोन्डा नामै आए । हिरो र होन्डा तत्कालिन समयका सवार्धिक सफल कम्पनीका रुपमा स्थापित भएको थियो ।
तर उक्त १९८४ मा बनेको साझेदारी २६ वर्ष पछि अर्थात २०११ को अगस्टमा आएर अन्त्य भएको हो । अलग्गिने निर्णय भएसंगै होन्डाले होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डिया नाम राख्यो भने हिरोले हिरो मोटोकर्पको रुपमा आफूलाई स्थापित गर्यो । दुई कम्पनी अलग्गिएसँगै हिरोको मुख्य प्रतिस्पर्धीको रुपमा होन्डा नै आएको छ ।
हिरो र होन्डाले आ–आफ्नै ढंगमा उत्पादन बजारमा ल्याउन थालेपछि २०१६ मा हिरोको मोडललाई होन्डाको मोडलले उछिनेको हो । २०१६ मेमा बेस्ट सेलिङ मोडलमा होन्डाको एक्टिभा स्कुटर आयो । त्यस अघि हिरोको स्प्लेन्डर मोडल बेस्ट सेलिङ टू ह्वीलर थियो भारतीय बजारमा । त्यस्तै २०१८ को अप्रिलमा होन्डाको एक्टिभा ४ लाख भन्दा धेरै बिक्री हुने पहिलो मोडल बन्न सफल भएको छ ।