नयाँ टियागो ईभी नेपालमा, कति तोकियो २ भेरियन्टको मूल्य ?

काठमाडौं । सिप्रदी ट्रेडिङले नेपालमा फेसलिफ्ट टाटा टियागो ईभीको बिक्री थालेको छ । सिप्रदी ट्रेडिङले दुई भेरियन्टमा फेसलिफ्‌ट टियागो ईभी नेपाल ल्याएको छ । यसको सुरुवाती भेरियन्टको मूल्य २८ लाख ९९ हजार रुपैयाँ छ भने टप भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ छ । नयाँ टियागो ईभी पहिलेकै मूल्यमा उपलब्ध भएको हो ।

सिप्रदीले आजदेखि सुरू भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा नयाँ टियागो ईभी सार्वजनिक गरेको हो । नेपाली सडकमा निकै बाक्लो संख्यामा भेटिने टियागो ईभीको फेसलिफ्ट संस्करण डिजाइन, प्रविधि र सुविधामा उल्लेख्य सुधार भएर आएको कम्पनीको दाबी छ ।

विशेषगरी सहर केन्द्रित किफायती ईभी खोज्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले नयाँ मोडल ल्याएको हो । फेसलिफ्ट टियागो ईभीमा २४ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री प्याक प्रयोग गरिएको छ । यसमा ५५ किलोवाट क्षमताको विद्युतीय मोटर छ । उक्त मोटरले ११४ एनएम टर्क उत्पादन गर्छ ।

नयाँ टियागो ईभीमा अपडेट गरिएको डिजिटल ककपिट, १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल र मल्टि फङ्सन स्टेयरिङ जस्ता सुविधा समावेश छन् । साथै, नयाँ अपहोल्स्ट्री र परिमार्जित इन्टेरियर डिजाइनले क्याबिनलाई थप आधुनिक बनाएको छ ।

सुरक्षाको लागि डुअल एयरब्याग, एबीएस, ईबीडी, रियर पार्किङ सेन्सर, रिभर्स क्यामेरा तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता फिचर उपलब्ध छन् ।

नेपालमा किफायती मूल्य र स्थापित सर्भिस नेटवर्कका कारण टाटा ब्राण्डप्रति ग्राहकको आकर्षण उच्च रहेको छ । यही कारण फेसलिफ्ट टियागो ईभीले पनि नेपाली बजारमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । सिप्रदीले कति मूल्य राखेर बजारमा ल्याउँछ भन्ने धेरैको चासो छ ।


Back_to_top