काठमाडौं । टाटाको कम्प्याक्ट सेडान टिगोरको इलेक्ट्रीक भर्सन अर्को हप्ताबाट विक्री सुरु हुने भएको छ । भारतमा ४ महिना अघि विक्री सुरु भएको टिगोर इभी फेब्रुअरीमा नेपाल आउने यसअघि नै कम्पनीले जनाएको थियो ।
‘टिगोर इभी नेपाल आएको छ, यदि सेडियुलमा नै काम हुन सके अर्को हप्ताबाट विक्री सुरु गर्ने योजना बनाएका छौं’, टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङ स्रोतले मेरोअटोसँग भन्यो ।
टाटाले यस अघि नेक्सन इभी नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ । बजारमा अत्याधिक माग भएपनि सप्लाईमा समस्या हुँदा करिब एक हजार ग्राहकले नेक्सन इभी बुकिङ गरेर बसेको सिप्रदी स्रोतको भनाई छ ।
टाटा टिगोर नेपाली बजारको लागि नयाँ नाम होइन । कम्प्याक्ट सेडान सेग्मेन्टमा निकै सफल यो मोडल इभीमा आउने समाचारहरु आएसँगै विद्युतीय गाडी खोज्नेहरुको बीचमा यसको राम्रै चर्चा रहेको छ ।
टिगोर इभीको चर्चा बढ्नुमा यसमा रहेको ग्राउन्ड क्लियरेन्स पनि मुख्य कारण हो । टाटाले यसमा १७२ एमएमको ग्राउन्ड क्लियरेन्स दिएको छ । टाटाका जिपट्रोन प्रविधिमा आधारित टिगोर इभीको सुरुवाती मूल्य करिब ३० लाख हाराहारी हुने अनुमान गर्न सकिन्छ ।

टिगोर इभीले ग्लोबल एनक्याप क्र्यास टेष्टमा फोर स्टार रेटिङ पाएको छ । यो सेडान कारमा २६ किलोवाट आवरको लिथियम आयोन व्याट्री र ५५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । यसमा रहेको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ । टिगोर इभीमा ड्राइभ र स्पोर्ट गरी दुई ड्राइभिङ मोड उपलब्ध रहेको छ ।
टिगोर दुई कलर अप्सनमा उपलब्ध हुनेछ । साथै, यसको ड्यासबोर्ड फिका ग्रे र कालो थिम गरी डुअल-टोन छ । टिगोरको सिट ग्रेनाइट कालो रंगमा छ ।
यसमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसीडी क्लष्टर, अटो एसी, सिट उचाई मिलाउन मिल्ने ड्राइभर सिट लगायतका विशेषता रहेका छन् ।
त्यस्तै, गाडीमा स्मार्ट की पुस-बटन स्टार्ट, पोर्टेबल चार्जिङ केबल पनि पाउन सकिन्छ । चालक र यात्रु सहजताको लागि टिगोरमा ३० भन्दा बढी कनेक्टिभिटीका विशेषताहरू छन् । जसमध्ये रिमोट कमान्ड र रिमोट डाइगोनिस्टिक पनि पर्छन् ।
सुरक्षाको हिसाबले हेर्दा कम्पनीले यो टिगोर ईभीमा डुअल एयर ब्याग, इबीडीसहितको एबीएस, रियर पार्किङ सेन्सर, रियर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताहरू समावेश गरेको छ ।

