तीन भेरियन्टमा आयो टिगोर इभी, यस्तो छ सबै भेरियन्टको मूल्य

काठमाडौं । टाटाको कम्प्याक्ट सेडान टिगोरको इलेक्ट्रीक भर्सन विभिन्न तीन भेरियन्टमा नेपाल आएको छ । कम्पनीले यसको सुरुवाती भेरियन्ट एक्सई, मिड भेरियन्ट एक्सएम र टप भेरियन्ट एक्सजेड प्लस नेपाल ल्याएको हो ।

सिप्रदी ट्रेडिङले सहरी बाटोलाई केन्द्रमा राखेर ल्याएको टिगोरको सुरुवाती भेरियन्ट एक्सईको मूल्य २९ लाख ९९ हजार, एक्सएमको ३१ लाख ४९ हजार र एक्सजेड प्लस भेरियन्टको ३२ लाख ९९ हजार मूल्य तोकेर विक्री सुरु गरेको हो ।

‘अहिले हामीले टेष्ट ड्राइभ गर्ने र बुकिङ लिने काम गरिरहेका छौं । तत्काल गाडी चाहिने मानिसलाई डेलिभरी दिन हामी तयार छौं’, सिप्रदी ट्रेडिङ सेल्स टीमले मेरोअटोसँग भन्यो ।

 

निकै सुरक्षित मानिएको टिगोर इभीले ग्लोबल एनक्याप क्र्यास टेष्टमा फोर स्टार रेटिङ पाएको छ । यो कम्प्याक्ट सेडान कारमा २६ किलोवाट आवरको लिथियम आयोन व्याट्री र ५५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । यसमा रहेको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ । टिगोर इभीमा ड्राइभ र स्पोर्ट गरी दुई ड्राइभिङ मोड उपलब्ध रहेको छ ।

धेरैले इभीमा रहने ग्राउन्ड क्लियरेन्सलाई महत्व दिने गरेका छन् । सेडान कार भएरपनि यसमा ग्राहकले १७२ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सक्नेछन् ।

यसमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसीडी क्लष्टर, अटो एसी, सिट उचाई मिलाउन मिल्ने ड्राइभर सिट लगायतका विशेषता रहेका छन् ।

त्यस्तै, गाडीमा स्मार्ट की पुस-बटन स्टार्ट, पोर्टेबल चार्जिङ केबल पनि पाउन सकिन्छ । चालक र यात्रु सहजताको लागि टिगोरमा ३० भन्दा बढी कनेक्टिभिटीका विशेषताहरू छन् । जसमध्ये रिमोट कमान्ड र रिमोट डाइगोनिस्टिक पनि पर्छन् ।


Back_to_top