फक्सवागेन टिगुवान इलेक्ट्रीकमा आउने

काठमाडौं । जर्मन कार निर्माता फक्सवागेनले विद्युतीय सवारीसाधन उत्पादनमा ब्यापक वृद्धि गर्ने योजना अनुसार नयाँ–नयाँ मोडल ल्याइरहेको छ । यहि क्रममा कम्पनीले आफ्नो सर्वाधिक सफल कम्प्याक्ट एसयूभी टिगुवानको इलेक्ट्रीक भर्सन पनि ल्याउने घोषणा गरेको हो ।

कम्पनीले अहिले घोषणा गरेपनि यसलाई सन् २०२६ मात्रै विक्री गर्ने योजना बनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । कम्पनी प्रबक्ताको भनाई अनुसार अहिलेकै डिजाइन, स्टाइल र लुक्समा विद्युतीय एसयूभी टिगुवान बजारमा आउने छ ।

फक्सवागेनको ‘एमइबी–प्लस’ प्लेटफर्ममा बन्ने टिगुवान २०२६ पछि विद्युतीय मोडलको रुपमा मात्रै उपलब्ध हुने बताइएको छ । कम्पनीले यसमा नयाँ लिथियम आइरन फस्फेट ब्याट्री दिने छ । यसले मुख्य विशेषता भनेको २०० किलोवाट क्षमताको चार्जर सपोर्ट गर्नु हो ।

टिगुवानको विषयमा धेरै डिटेल सार्वजनिक भएको छैन । सन् २०३३ बाट विद्युतीय कार मात्रै उत्पादन र विक्री वितरण गर्ने योजना बनाएको फक्सवागेनले यस बीचमा आफ्ना सफल मोडलहरुलाई विद्युतीय बनाउने तयारी थालेको जनाएको छ ।

फक्सवागेनले अहिले आईडी सिरिजको रुपमा आई ३, आईडी ४, आईडी ५ जस्ता मोडलका विभिन्न भेरियन्ट विक्री गर्दै आएको छ । कम्पनीले निकट भविष्यमा नै थप आईडी २ मोडल पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा ईभीको आक्रमक विक्री योजना बनाएर काम गरिरहेको फक्सवागेनले भारत र नेपालमा भने कुनै पनि विद्युतीय कार विक्री सुरु गरेको छैन ।


Back_to_top