काठमाडौं । विश्व अटोमोबाइल बजारमा गनिने चार ठूला बजार मध्येको एक भारतमा सबैभन्दा धेरै बिक्री हुने कार कुन होलान् भन्ने चासो धेरैको हुन सक्छ । भारतमा सर्वाधिक कार बिक्री गर्ने मारुती सुजुकीका मात्रै ७ मोडल शीर्ष १० धेरै बिक्री भएका कारमा पर्छन् ।
सूचीमा हुन्डाईको एक, टाटाको एक र महिन्द्राको एक मोडलले स्थान बनाउँदा मारुती सुजुकीका ७ मोडल अटाएका हुन् । आर्थिक वर्ष २०२४/२५ मा सबैभन्दा धेरै मारुती सुजुकी वागेनआर मोडल बिक्री भएको देखिन्छ । कम्पनीले १ वर्षको अवधिमा १ लाख ९८ हजार ४५१ युनिट वागेनआर बिक्री गरेको हो ।
सूचीको दोस्रो स्थानमा टाटा पन्च परेको छ । टाटाले ईभी, पेट्रोल र सीएनजीमा उपलब्ध गराएको पन्च एक वर्षमा १ लाख ९६ हजार ५७२ युनिट बिक्री भएको हो ।
सूचीको तेस्रो स्थानमा हुन्डाई क्रेटा पर्न सफल भएको छ । पेट्रोल, डिजेल र जनवरीबाट ईभीमा पनि उपलब्ध क्रेटा एक वर्षको अवधिमा १ लाख ९४ हजार ८७१ युनिट बिक्री भएको थियो ।
सूचीको चौथो, पाँचौं र छैटौं स्थानमा रहेका मारुती सुजुकी आर्टिका, ब्रेजा र स्वीफ्ट क्रमशः १ लाख ९० हजार ९७२, १ लाख ८९ हजार १६३ र १ लाख ७९ हजार ६४१ युनिट बिक्री भएको देखिन्छ ।
सूचीको सातौं स्थानमा पनि मारुती सुजुकीकै बलेनो पर्न सफल भएको छ । गत १ वर्षमा १ लाख ६७ हजार १६१ युनिट बलेनो बिक्री भएको हो । मारुती सुजुकी फ्रङ्क्स १ लाख ६६ हजार २१६ युनिट बिक्री हुँदा मारुती डिजायर १ लाख ६५ हजार २१ युनिट बिक्री भएको थियो ।

सूचीको १० औं स्थानमा महिन्द्रा स्कर्पियो पर्न सफल भएको छ । कम्पनीले १ लाख ६४ हजार ८४२ युनिट स्कर्पियो बिक्री गरेको हो ।
भारतमा सर्वाधिक बिक्री, नेपालमा बेहाल
भारतीय बजारमा उत्कृष्ट व्यापार गर्न सफल मोडल मध्ये टाटा पन्च ईभीमा भएको कारण संख्यात्मक रूपमा नेपालमा पन्च ईभी सफल देखिएको छ ।
त्यस्तै, हुन्डाई क्रेटा पेट्रोल र ईभी दुवैमा उपलब्ध छ । संख्यात्मक रूपमा अहिले क्रेटाको बिक्री पनि राम्रो देखिएको छ । यसका अलावा महिन्द्रा स्कर्पियो केही उपभोक्ताको रोजाईमा परे पनि सुजुकीको ब्रेजा बाहेक अन्य कुनै पनि मोडलले नेपालमा व्यापार गर्न सकेको छैन ।
सुजुकीका शीर्ष १० भित्र ७ कार रहे पनि नेपालमा ब्रेजा बाहेक अन्य मोडलको बिक्री ठप्प प्रायः भएको छ ।

