काठमाडौं । भारत मोबिलिटी एक्स्पो २०२५ मा पहिलो पटक भारतमा सार्वजनिक भएको एक्सपल्स २१० मोटरसाइकल डेलिभरी सुरू भएको छ । कम्पनीले मार्च २० देखि एक्सपल्स २१० को बुकिङ लिन सुरू गरेको थियो ।
भारत मोबिलिटी एक्स्पो २०२५ मा १ लाख ७६ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) मूल्य तोकेर सार्वजनिक गरेको एक्सपल्स २१० को डेलिभरी सुरू भएको हो ।
एक्सपल्स २१० मा २१० सीसी सिंगल सिलिण्डर, डीओएचसी, फोर भल्ब, एलसी, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसले अधिकतम २४.६ बीएच पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।
एक्सपल्स २१० मा नयाँ डिजाइनको फ्युल ट्याङ्कको दिइएको छ । यसमा ट्याङ्क एक्स्टेन्सको प्रयोग गरिएको छ । यसको फ्रन्टमा २१ र रियरमा १८ इन्चको डलब पर्पस टायरको प्रयोग गरिएको छ ।
यो मोटरसाइकलको फ्रन्टमा ४३ एमएम फुल्ली एड्जस्टेबल यूएसडी फर्क पाउन सकिन्छ भने रियरमा २०५ एमएम ट्राभल मोनोशक सस्पेन्सन उपलब्ध छ ।
यो मोटरसाइकलमा इन्ड्यूरो स्टाइल टेल सेङसन, स्वीचएबल डबल च्यानल एबीएस, ट्याकोमिटर, ओडोमिटर , गियर पोजिसन इन्डिकेटर र टर्न बाइ टर्न नेभिगेसन देखिने ४.२ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ ।
साथै, स्मार्ट कनेक्ट फिचर, अगाडि गोलो एलईडी हेडल्याम्प, विन्ड स्क्रीन, एलईडी टर्न इन्डिकेटर जस्ता फिचरहरू छन् ।
नेपालमा एक्सपल्स २०० निकै लोकप्रिय मोटरसाइकल हो । हाल नेपाली बजारमा उपलब्ध हिरो एक्सपल्स २०० प्रोको मूल्य ५ लाख रुपैयाँ रहेको छ ।
हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले एक्सपल्स २१० आगामी अटो शोमा नेपाल ल्याउने अनुमान गर्न सकिन्छ । एक्सपल्स २१० नेपालमा आउँदा ६ लाखभन्दा कम मूल्यमा आउने अनुमान गर्न सकिन्छ ।