काठमाडौं । भारतमा तुलनात्मक रूपमा विद्युतीय कारको बिक्री कमजोर छ । कुल कार बिक्रीको ३ देखि ४ प्रतिशत पुग्नै लागेको भारतमा कुन मोडलहरू धेरै बिक्री हुन्छन् भन्ने जिज्ञासा धेरैमा हुन सक्छ ।
नेपालमा पनि चार वर्ष अगाडिसम्म भारतमा उत्पादन भएका कारको बजार हिस्सा ९७ प्रतिशत हाराहारी थियो । अहिले विद्युतीय कारमा चीनको प्रभुत्व बढेसँगै भारतमा उत्पादन भएका कारको बजार हिस्सा ५० प्रतिशत हाराहारीमा खुम्चेको छ ।
भारतमा विद्युतीय कारमा सबैभन्दा धेरै फोकस ब्राण्ड टाटा हो । टाटाले प्योर ईभी मोडल मात्रै नल्याए पनि आफ्नो आइसीई इन्जिन भएका गाडीलाई एकपछि अर्को ईभीमा ल्याइरहेको छ । अहिले टाटासँग भारतमा टिगोर ईभी, टियागो ईभी, पन्च ईभी, नेक्सन ईभी, कर्भ ईभी र ह्यारीयर ईभी गरी ६ मोडल इलेक्ट्रीकमा बिक्री गर्दै आएको छ ।
एमजीले भारतमा एमजी जेडएस ईभी, कोमेट ईभी र विन्डसर ईभी बिक्री गर्दै आएको छ । कम्पनीको यी सबै मोडल राम्रो संख्यामै बिक्री भइरहेको छ ।

महिन्द्राले बीई सिक्स र एक्सईभी ९ ई र एक्सईभी ९ एस मोडल ईभीमा ल्याएको छ । कियासँग ईभी सिक्स र करेन्स ईभी छ । हुन्डाईले आयोनिक फाइभ र क्रेटा ईभी बिक्री गर्छ । यसका अलवा चिनियाँ ब्राण्ड बीवाइडीको एटो थ्री, सिलायन सेभन र एम सिक्स जस्ता मोडल छन् ।
फ्रेन्च कार निर्माता सिट्रोनको ई सीथ्री मोडल पनि ईभीको रूपमा बिक्री हुँदै आएको छ । यी सबै मोडलले राम्रो व्यापार भने पाउन सकेको छैन ।
यी हुन् भारतमा धेरै बिक्री हुने ईभी मोडल
नोभेम्बर २०२५ को तथ्यांक अनुसार भारतीय बजारमा सबैभन्दा धेरै एमजी विन्डसर बिक्री भएको छ । एमजीको विन्डसर ईभी ३ हजार ३१८ युनिट बिक्री भएको हो ।
एमजी विन्डसरलाई पछ्याउँदै दोस्रो स्थानमा टाटा ह्यारीयर ईभी आइपुगेको छ । भारतमा अघिल्लो महिनाबाट बिक्री सुरू भएको ह्यारीयर ईभी नोभेम्बर महिनामा २ हजार ४५८ युनिट बिक्री भएको हो ।

धेरै बिक्री भएका ईभीको सूचीमा तेस्रो स्थान पनि टाटा कै नेक्सन ईभी पर्न सफल भएको छ । टाटा नेक्सन ईभी नोभेम्बरमा २ हजार २३० युनिट बिक्री भएको हो ।
चौथो र पाँचौं स्थानमा महिन्द्रा एक्सईभी नाइन ई र बीई सिक्स एसयूभी परेको छ । यी दुवै एसयूभीको बिक्री क्रमशः १ हजार ९९७ र १ हजार ५४० युनिट भएको हो ।

