काठमाडौं । हुन्डाई मोटर ग्रुपले आफ्नो ईभी लाइनअपकै सबैभन्दा सानो मोडल ‘ईभी टु’ आगामी जनवरी ९ तारिखमा सार्वजनिक गर्ने भएको छ । नयाँ वर्ष २०२६ को सुरूवातमै हुने ब्रेसल्स मोटर शोमा ईभी टु सार्वजनिक हुने भएको हो ।
नयाँ मोडलको टिजर बाहिर ल्याउँदै कियाले आफ्नो सबैभन्दा बजेट ईभी तयार भएको संकेत दिएको हो । ईभी टु कियाले फ्रन्ट ह्वील ड्राइभ मोटरमा ल्याउने छ । ४०० भोल्ट आर्किटेक्चरमा बनेको ईभी टु फिचरका हिसाबले भने उत्कृष्ट रहने अनुमान गर्न सकिन्छ ।
कियाले ईभी टुको कन्सेप्ट मोडल अघिल्लो वर्ष नै देखाएको थियो । कम्पनीले देखाएको टिजर पनि लगभग कन्सेप्ट जस्तै देखिएको छ । यसको अपराइट फ्रन्ट फेसिया, स्लोपिङ रुफलाइन, रुफ माउन्ट स्पोइलर र हल्का इनक्लाइन्ट रियर विन्डसिल दिएको देखिन्छ ।
कम्पनीले यसमा दिएको लाइटहरू देखाइएको छैन । कियाले अहिलेसम्म यसमा रहेको ब्याट्री र मोटर साइजको विषयमा कुनै जानकारी बाहिर ल्याएको छैन । तर, ३९ किलोवाट आवर र ४६ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा आउने अनुमान गरिएको छ ।
नेपालको सन्दर्भमा कियाले सोल ईभी ल्याएर बजारमा बलियो उपस्थिति जनाएको भए पनि त्यसपछिको अवस्था ‘कन्फ्युज’ गर्ने खालको छ । उसले दोस्रो मोडल निरो ईभी ल्यायो । तर, त्यसलाई निरन्तरता दिएन । अहिले ईभी नाइन र ईभी सिक्स जस्ता मोडल उपलब्ध गराएको भए पनि बिक्रीका हिसाबले राम्रो छैन ।
ईभी टु नेपाल जस्ता मूल्यमा निकै महत्व राख्ने बजारको लागि निकै महत्वपूर्ण हुनसक्छ । तर, यो नेपाल आउन भने अझै लामो समय कुर्नुपर्ने हुनसक्छ ।

