काठमाडौं । विश्व अटोमोबाइल बजारमा अहिले सर्वाधिक चर्चामा रहेको विषय ‘गो ग्रीन’ हो । तर, संसारकै सबैभन्दा ठूलो कार निर्माता टोयोटा लामो समयसम्म यसमा उदासिन देखियो । हुनतः १९९७ मै र्याभफोर ईभी बनाएको टोयोटाले यसमा थप समय खर्चेन ।
त्यसपछि के भयो भनेर सम्झनुहोस् त, जब टोयोटाका पूर्व सीईओ अकीओ टोयोडालाई पूर्ण रूपमा इलेक्ट्रीक गाडीको पक्षमा नभएको आरोप लाग्यो । लगानीकर्ताहरूले वार्षिक साधारण सभामै थुप्रै प्रश्न उठाए । अनि उनले ईभीको विषयमा ठोस योजना प्रस्तुत गर्नु परेको थियो ।
तर, टोयोटाको सोचलाई धेरैले ठीक थियो भन्ने अवस्था सिर्जना भएको छ । त्यसको मुख्य कारण चिनियाँ कम्पनी बाहेक विश्वका सबै ईभी निर्माताले वार्षिक अर्बौं डलर गुमाउनु परेको छ । चिनियाँ निर्माताहरूलाई सरकारले ठूलो रकम अनुदान दिएको आरोपहरू लागि रहेका छन् ।

अमेरिकी कम्पनी फोर्ड, यूरोपियन ब्राण्ड फक्सवागेन ग्रुपदेखि कोरियन कम्पनी हुन्डाई मोटर ग्रुपसम्मले ईभीमा ठूलो रकम गुमाइरहेका छन् । अहिलेको ईभीमा नोक्सानीलाई हेरिरहेका टोयोडाले ‘मैले भनेको थिएँ’ नि भन्दै गर्व गर्ने अवस्था बनेको छ । यसलाई बुँदागत रूपमा हेरौं ।
कारण नम्बर ६ : द्रुत विद्युतीकरणमा विकसित देश अमेरिकाको धारणा परिवर्तन
अमेरिकी इन्भारोमेन्टल प्रोटेक्सन एजेन्सी (ईपीए)ले सन् २०३२ सम्म ६७ प्रतिशत नयाँ कारहरू पूर्ण विद्युतीय बनाउन चाहन्थ्यो । तर, उक्त योजना कार्यान्वयन गर्न अमेरिकी कार निर्माताहरू बाधक बने । उत्पादकहरूले पहिले नै ईभी विकासमा लगानी गरेर घाटा व्यहोरेका थिए ।
युनाइटेड अटो वर्कर्सलाई रोजगारी घट्ने डर थियो । उपभोक्ताहरू उच्च लागत र ईभीको विश्वसनियतामा शंका गर्थे । छोटो अवधिमा ईपीएले बनाएको योजना गहिरो अनुसन्धान नभएकाले असफल हुनु निश्चित थियो ।
गत महिना मात्र ईपीएले सन् २०३२ सम्ममा केवल ३३ प्रतिशत मात्रै विद्युतीय कारको प्रयोग हुने यथार्थपरक योजना प्रस्तुत गर्यो । ईपीएको नयाँ लक्ष्यले अनुमानित उत्सर्जन घटाउँदै लान र कार निर्माताहरूलाई पेट्रोल इन्जिनको उत्पादन जारी राख्न प्रेरित गर्छ ।
कारण नम्बर ५ : हाइब्रिड गाडीको बिक्री वृद्धि
ईभीको तुलनामा हाइब्रिड कारको बिक्री अधिक छ । सन् २०२४ मा हाइब्रिड कारले ईभीलाई उछिनेको छ । विश्वभर ७.८ प्रतिशत ईभी बिक्री हुँदा हाइब्रिडको हिस्सा ९ प्रतिशत पुगेको छ । हाइब्रिडको बिक्री बढ्नु टोयोटाको लागि ठूलो समाचार हो । ऊ हाइब्रिड प्रविधिमा अग्रणी छ ।

गत वर्ष टोयोटाले विश्वभर ३४ लाख यूनिट हाइब्रिड कार बेच्यो । अहिले पनि हाइब्रिडमा उसको रफ्तारलाई क्याम्री र नयाँ जेनेरेशन र्याभफोरले साथ दिने देखिन्छ । हाइब्रिड कारहरू लोकप्रिय हुनुमा कम कार्बन उत्सर्जन र ईभीको जस्तो रेन्ज र चार्जिङ समस्या नहुनु हो । साथै, मूल्यका हिसाबले पनि ईभी भन्दा सस्तो हुनु हो ।
कारण नम्बर ४ : ग्राहक र डिलरलाई केन्द्रमा राख्नु
ईभी उत्पादकले ग्राहकको आवश्यकतालाई बेवास्ता गर्नु र सरकारहरूले ईभीको लागि उपभोक्ताहरू कम फाइदा भए पनि बढी रकम तिर्ने अपेक्षा गरेका थिए । यसले पेट्रोल कारहरूको उच्च मूल्यहरूलाई नेतृत्व गर्यो । कार निर्माताहरू ईभी परियोजनामा लगानी बढाउन कारको मूल्य बढाइ रहे । किनभने विभिन्न रिपोर्ट अनुसार एउटा सामान्य ईभीमा लगभग ६ हजार डलर घाटा खाएर बिक्री गर्नु परेको थियो ।

टोयोटाले यस जोखिमपूर्ण रणनीतिमा भाग लिन अस्वीकार गर्यो । खराब लगानीहरू गर्नुभन्दा जरिवाना तिर्न ठीक भन्ने उसको निर्णय थियो । टोयोटा सधैं ग्राहक र डिलर केन्द्रित रणनीतिमा चल्दै आएको छ । सरकारी नियमहरू उसको दोस्रो प्राथमिकतामा देखिन्छ । यो रणनीतिका कारण उसले सफलता पायो ।
कारण नम्बर ३ : टोयोटाको रेकर्ड-ब्रेकिङ मुनाफा
‘गोइङ ग्रीन’को लक्ष्य प्रशंसनीय हो । तर, यो नारा टिकाउ हुन नाफा आर्जन गर्न सक्नुपर्छ । द्रुत विद्युतीकरणमा लागेका अमेरिकी कार निर्माताहरू जनरल मोटर्स र फोर्डले नाफा बनाउन सकेका छैनन् । उनीहरूले ईभीकै कारण ठूलो घाटा व्यहोरिरहेका छन् । फोर्डले सन् २०२३ मा ईभी प्रोजेक्टमा ४५ बिलियन डलर गुमाएपछि एफ-१५० लाइटिङको उत्पादन रोकेर १२ बिलियन डलरको लगानी पछि सारेको छ ।
अर्को अमेरिकी ब्राण्ड जनरल मोटर्सले सबै विद्युतीय मोडलहरू सिल्भराडो र सिएरालाई २०२५ सम्म पछाडि धकेलेको छ । ठूला कार निर्माता ईभीमा अर्बौ डलर खन्याएर काम गरिरहँदा टोयोटाले हाइब्रिडहरूमा ध्यान केन्द्रित गर्यो ।

सन् २०२४ मा टोयोटाले महत्वपूर्ण वित्तीय सफलता हासिल गरेको रिपोर्ट सार्वजनिक गर्यो । कम्पनीको नेट रेभेन्यू लगभग ३११ बिलियन डलर पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा २१.४ प्रतिशतले बढी हो । टोयोटाको अपरेटिङ इनकम लगभग दोब्बर भएर अघिल्लो वर्षको २०.२ बिलियन डलरबाट ३६.९ बिलियन डलर पुगेको छ । साथै, टोयोटाको नेट इन्कम उल्लेखनीय रूपमा बढेर, अघिल्लो वर्षको १८.२ बिलियन डलरबाट बढेर ३४.१ बिलियन डलर पुगेको छ ।
कारण नम्बर २ : ईभी प्रविधिको अपरिपक्वता
टोयोटाको मुख्य नेतृत्व अकीओ टोयोडा ईभी प्रविधि ठूलो उत्पादनको लागि तत्कालै तयार छैन भन्नेमा विश्वास गर्थे । ईभी विकासले गति लिन थप समय आवश्यक छ र ईभीले शून्य उत्सर्जन ग्यारेन्टी गर्न सक्दैनन् भन्ने उनको भनाइ थियो । उनको पूर्वानुमान अहिले सही साबित भए जस्तो देखिन्छ ।
विश्व बजारमा ईभी अझै महँगा छन्, २०२३ मा औसत कारको मूल्य ५५ देखि ६० हजार डलर छन् । यद्यपि, चिनियाँ कारहरू त्यसको तुलनामा सस्ता छन् । चर्काे मूल्यसँगै गाडीको पफर्मेन्स र कन्भिनेन्समा समस्या छ ।

टोयोटाको अध्ययन अनुसार राम्रा ईभी चालकहरू ५० हजार डलरभन्दा कम मूल्य, ५०० किलोमिटर हाराहारी रेन्ज र २० मिनेटमा रिचार्ज हुने कार चाहन्छन् । तर, अहिलेसम्म यी आवश्यकता पूरा गर्ने ईभी विरलै बजारमा पाइन्छ ।
कारण नम्बर १ : विविधीकरणको शक्ति
आफ्नो स्पष्ट दृष्टिकोणको बावजुद टोयोटा विद्युतीय कारहरूको विरोधी होइन । ऊ पूर्ण रूपमा विद्युतीय सवारी साधनहरूमा केन्द्रित हुने एकल दृष्टिकोणको मात्र विरोधी हो । टोयोटा ईभी मात्रै नभइ शून्य उत्सर्जन गर्ने हाइड्रोजन लगायतका विकल्पमा काम गरिरहेको कम्पनी हो ।

टोयोटाले तरल एमोनियामा चल्ने इन्जिन पनि विकास गर्दैछ । यो विविध दृष्टिकोण मार्फत टोयोटाले धेरै अप्सनहरू ग्राहकलाई प्रस्ताव गरेर भविष्यको अटोमोबाइल क्षेत्रमा ग्लोबल लिडरको ताज आफैँसँग राख्न जोडवलले काम गर्दै आएको छ । समग्रमा अहिलेसम्मको बजार हेर्दा टोयोटा सही रणनीतिमा अगाडि बढिरहेको देखिन्छ ।
– एजेन्सीकाे सहयाेगमा

