टेस्लापछि टोयोटाले घटायो इलेक्ट्रीक एसयूभीको मूल्य

काठमाडौं । अमेरिकी इलेक्ट्रीक कार निर्माता टेस्लाको सिको गर्दै टोयोटाले आफ्नो इलेक्ट्रीक कारको मूल्य घटाएको छ । टोयोटाले चिनियाँ बजारमा आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी बीजेडफोरएक्सको मूल्य करिब ५ हजार डलरले घटाएको हो ।

पहिलेको तुलनामा एकै पटक १५ प्रतिशत मूल्य कटौती गर्दै टोयोटा बीजेडफोरएक्सको शुरुवाती मूल्य २५ हजार डलरभन्दा कम कायम गरिएको छ । जबकी बीजेडफोरएक्सको मूल्य अमेरिकी बजारमा ४२ हजार डलर रहेको छ ।

इलेक्ट्रीक गाडीका लागि एकदमै प्रतिस्पर्धी मानिएको चिनियाँ बजारमा टोयोटाले निकै ठूलो कदम चालेको अटो क्षेत्रमा लागेका धेरै विज्ञहरुले विष्लेषण गरेका छन् । टोयोटा र चिनियाँ कम्पनीको संयुक्त लगानीमा संचालित एफएडब्लु टोयोटा र जीएसी टोयोटा कम्पनीले उत्पादन गरेका बीजेडफोरएक्सको मूल्यमा कटौती गरिएको हो ।

चीनमा उत्पादन भएको बीजेडफोरएक्सको मूल्य कटौतीसँगै शोलार चार्जिङ मोडुल समेत दिइएको छ । टोयोटाका अनुसार यो शोलार छतका कारण वार्षिक एक हजार ७५० किलोमिटरको रेन्ज थप हुनेछ । शोलार रुफ मोडल लिनका लागि भने २ हजार ९०० डलर थप खर्च गर्नु पर्ने हुन्छ ।

टोयोटा बीजेडफोरएक्सको दुई भेरियन्ट चिनियाँ बजारमा किन्न पाइन्छ । जसमा सिंगल मोटर र ड्यूल मोटर भएका दुई फरक भेरियन्ट पाउन सकिन्छ ।

फ्रन्ट ह्वील ड्राइभ अप्सन रहेको मोडलमा १५० किलोवाटको मोटर छ । यसले २०१ हर्सपावर तथा २६६ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । त्यस्तै, अलह्वील ड्राइभ मोडलमा १६० किलोवाटको मोटर रहेको छ । जसले २१४ हर्सपावर र ३३७ न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।

मोटर जस्तै यसमा ब्याट्री पनि फरक साइजको पाउन सकिन्छ । कम्पनीले दुुबै पावरट्रेन अप्सनसँग ५०.३ किलोवाटआवर र ६६.७ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । ठूलो ब्याट्री प्याकको अधिकतम रेन्ज ६१५ किलोमिटर रहने सीएलटीसीको परिक्षणले देखाएको छ । टोयोटा बीजेडफोरएक्स अलह्वील ड्राइभले जम्मा ६.९ सेकेन्डमै शून्यबाट १०० किलोमिटर प्रति सेकेन्डको स्पीड भेट्टाउन सक्छ ।


Back_to_top