काठमाडौं । उत्तर अमेरिकी बजारमा टोयोटाले विक्री गर्दै आएको सखोया एसयूभीको थर्ड जेनेरेशन मोडल सार्वजनिक भएको छ । कम्पनीले सन् २००८ मा आएको सेकेन्ड जेनेरेशन मोडललाई प्रतिस्थापन गरेर नयाँ जेनेरेशन मोडल ल्याएको हो ।
सखोया एक प्रकारको रुखको जात हो । यसबाटै टोयोटाले आफ्नो पवारफुल एसयूभीको नामाकरण गरेको हो । जापानी कार निर्माताले अमेरिकी बजारमा एलसी २०० लाई प्रतिस्थापन गर्न सखोया मोडल ल्याएको हो । सखोयालाई कम्पनीले उत्तर अमेरिका र मध्यपूर्वी देशहरुमा विक्री वितरण गर्ने जनाएको छ ।
यी स्थानमा कम्पनीले अघिल्लो वर्ष सार्वजनिक गरेको एलसी ३०० को विक्री गर्ने योजना बनाएको छैन । जहाँ एलसी ३०० को विक्री हुन्छ, त्यहाँ सखोया विक्री हुने छैन ।
टोयोटाले बजारमा ल्याएको सखोयामा लेक्सस एलएक्स ६००, ल्याण्डक्रुजर एलसी ३०० र ट्रुन्डा पीकअपबाट धेरै पार्टस् र फिचरहरु लिएर बनाएको छ । फरक ह्वील आर्क, मस्कुलर फेन्डर, फरक किसिमको फ्रन्ट ग्रिल, तीन रो सिट, क्याप्टेन सिटी, ८ देखि १४ इन्चसम्मको इन्फोटेन्टमेन्ट सिस्टम, टोयोटा सेफ्टी सेन्स २.५ को प्रयोग, मुनरुफ, १२.३ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर यसमा पाउन सकिन्छ ।
दुई ड्राइभिङ सिस्टम टु ह्वील र फोर ह्वीलमा उपलब्ध सखोयामा ३.५ लिटर, ट्वीन टर्बो, भि सिक्स, डिजेल इन्जिन प्रयोग भएको छ । उक्त इन्जिनले अधिकतम ४३७ हर्स पावर प्रदान गर्छ । टोयोटाले यसमा १० स्पीड क्षमताको अटोमेटीक गियरबक्स दिएको छ ।
मल्टी टेरेन सिस्टम, डाउन हिल एसिस्ट, क्रल कन्ट्रोल, १८ इन्चको अलोय ह्वील जस्ता फिचर यसमा रहेका छन् । यो अफरोड एसयूभी नेपाल भने आउने छैन । टोयोटाले नेपाली बजारमा ल्याण्डक्रुजर एलसी ३०० भने चाँडै सार्वजनिक गर्ने छ ।


