काठमाडौं । चिनियाँ इलेक्ट्रीक भेहिकलको उभारबाट बजार हिस्सा गुमाउँदै आएका जापनीज अटो जायन्ट टोयोटाले चीनमा ईभी प्लान्ट बनाउने योजना बनाएको खबर बाहिर आएका छन् ।
ब्लुमबर्गका अनुसार टोयोटाले लेक्सस ब्राण्डका ईभी उत्पादन गर्नका लागि आफ्नै पूर्ण स्वामित्वमा फ्याक्ट्री बनाउन संघाईका अधिकारीहरुसँग छलछल गरिरहेको समाचार बाहिर आएको हो ।
टोयोटाले प्लान्ट स्थापनाका लागि टेस्लाको जस्तै सुविधाहरु माग गरिरहेको छ । यसमा ट्याक्समा छुट, पोलीसीमा सपोर्ट, निःशूल्क जमिन र स्थानिय पार्टनर विनानै एकल स्वामित्वमा फ्याक्ट्री स्थापना गर्ने जस्ता विषय उठाएका छन् ।
टेस्लाले सन् २०१९ मा स्थापना गरेको गिगा संघाई चीनको पहिलो विदेशी पूर्ण स्वामित्वमा बनेको अटोमोवाइल उत्पादन गर्ने प्रोजेक्ट हो । एक वर्षमै तयार भएको उक्त प्लान्टबाट सन् २०२० को जनबरीबाट मोडल थ्री सेडान र सन् २०२१ को जनवरीबाट मोडल वाई क्रसओभर उत्पादन गर्दै आएको छ ।
संघाई सरकारले विश्वका ठूला कम्पनीहरुलाई वैदेशिक लगानी गर्नका लागि खुल्ला गरेको छ । तर, यसको अन्तिम निर्णय भने चिनियाँ केन्द्र सरकारले गर्नेछ ।
टोयोटा विश्वकै सबैभन्दा ठूलो कार निर्माता हो । पछिल्लो समयले चीनमा आफ्नो बजार हिस्सा द्रुत गतिमा गुमाउँदै गएको छ । टोयोटाले चीनमा जीएसी ग्रुप र एफएडब्लु ग्रुपसँग संयुक्त लगानीमा गाडी उत्पादन गर्दै आएको छ ।
सन् २०२४ को जनवरीदेखि मेसम्मको ५ महिनामा जीएसी टोयोटाको रिटेल सेल्स २ लाख ९२ हजार ३७७ यूनिट रहेको थियो । यो बिक्री अघिल्लोे वर्षको भन्दा १४.८ प्रतिशतले कम हो ।