काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौंको त्रिपुरेश्वर अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षिय गणेश नेपालीलाई कुनै जरिवाना नगरिएको स्पष्ट पारेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा सत्यतथ्य नबुझी तथ्यहीन र भ्रामक विवरण फैलाइएको बताएको हो ।
घटनास्थलको वस्तुस्थिति तथा प्रारम्भिक छानबिनका क्रममा ट्राफिक प्रहरीद्वारा जरिबाना नगरिएको र ट्राफिक कारबाहीसँग यस घटनाको कुनै पनि सम्बन्ध नरहेको ट्राफिकले स्पष्ट पारेको छ ।
‘उक्त घटनामा ट्राफिक प्रहरीले जरिबाना तिराएको र सोही कारणले आत्मदाहको प्रयास गरेको भनी फैलाइएका विवरणहरू पूर्णतः तथ्यहीन र भ्रामक रहेका छन् । घटनास्थलको वस्तुस्थिति तथा प्रारम्भिक छानबिनका क्रममा ट्राफिक प्रहरीद्वारा जरिबाना नगरिएको र ट्राफिक कारबाहीसँग यस घटनाको कुनै पनि सम्बन्ध रहेको छैन,’ कार्यालयले जारी विज्ञप्तिमा भनिएको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पार्किङ गरेको मोटरसाइकलमा काठमाडौं महानगर प्रहरीको टोलीले ह्वील लक गरेपछि मुगु जिल्ला सोरु गाउँपालिका–१ घर भएका २५ वर्षीय नेपालीले आत्मदाहको प्रयास गरेका थिए ।
उक्त विषयलाई जोडेर विभिन्न संचारमाध्यम तथा सामाजिक संजालमा सम्प्रेषण भएका सामग्रीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको कार्यालयले जनाएको छ । भ्रामक सामग्रीले आम नागरिकमा भ्रम सिर्जना गर्ने हुँदा यस्ता अफवाहको पछि नलाग्न अनुरोध समेत गरेको छ ।
‘घटनाको वास्तविक कारणबारे सम्बन्धित अनुसन्धान अधिकारीहरूबाट कानुनी रूपमा अनुसन्धान अघि बढिसकेको छ । यस अवस्थामा सत्यतथ्य नबुझी, आधिकारिक पुष्टि बिना र सुरक्षा निकायको नाम जोडेर सम्प्रेषण गरिने सामग्रीले आम नागरिकमा भ्रम सिर्जना गर्ने हुँदा यस्ता अफवाहको पछि नलाग्न अनुरोध गरिन्छ,’ ट्राफिक प्रहरीले भनेको छ ।



