मोटरसाइकल वा कार किन्नुअघि ट्राफिक सम्झौँता गर्नु पर्ने

काठमाडौं । अब कुनै व्यक्तिले गाडी वा मोटरसाइकल किन्नुअघि सवारी नियम पालना सम्बन्धि प्रतिवद्धता सम्झौँता पत्रमा हस्तारक्षर गर्नु पर्ने भएको छ । सवारी विक्रेताले समेत सवारी नियम पालना सम्बन्धि प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएर मात्र बिक्री गर्नु पर्ने व्यवस्था लागु गर्ने तयारी भइरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यो नियम कार्यान्वयन गर्ने विषयमा नाडा अटोमोवाइल एसोशिएसन अफ नेपालसँग छलफल भइरहेको जनाइएको छ ।
उपत्यकामा आज आयोजित पत्रकार सम्मेलनमा ट्राफिक महाशाखाले आफ्ना आगामी कार्ययोजना पेश गरेको थियो । सो योजना अनुसार प्रविधिमैत्री ट्राफिक व्यवस्थामा जाड दिइने जानकारी दिइयो ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम ढकालले उपत्यकाका मुख्य स्थानहरुमा ट्राफिक लाइट राखिनुका साथै सिसिटिभीको समेत व्यवस्था भइरहेको जानकारी दिए । उनले सडक पूर्वाधार विकासमा जोड दिदै सडक लेन मार्किङ, संकेत बोर्डहरु राख्ने काम सुरु गर्नलागिएको बताए ।

यस्तै कोटेश्वर सडकखण्डमा थप लेन निर्माणका लागि सरोकारवालाहरुसँग छलफल भइरहेको र आगामी दिनहरुमा स्कुलमा ट्राफिक चिल्ड्रेन पार्क बनाउने योजना समेत कार्यक्रममा पेश गरिएको थियो ।

ट्राफिक महाशाखाले रुट पर्मिट वितरण प्रणालीमा समेत सुधार ल्याउन अध्ययन भइरहेको जनाएको छ । साथै, सार्वजनिक यातायातमा जेष्ठ नागरिकलाई विशेष व्यवस्थाका लागि पहल गर्नुका साथै ट्राफिक मैत्री सडकका लागि ३७ बुदे अल्पकालिन सडक सुधार कार्ययोजना कार्यान्वयन गर्ने बताइएको छ ।


Back_to_top