टीभीएसले देखायो ५ कन्सेप्ट मोडल, ३ वटा ईभी

काठमाडौं । भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता टीभीएस मोटरले इक्मा अटोशो २०२५ को अवसर पारेर आफ्नो ५ नयाँ कन्सेप्ट मोडल देखाएको छ ।

कम्पनीले इटालीको मिलानमा जारी इक्मा अटोशोमा तीन इलेक्ट्रीक र दुई पेट्रोल कन्सेप्ट मोडलका नयाँ मोटरसाइकल र स्कुटर प्रदर्शन गरेको हो ।

कम्पनीले इलेक्ट्रीक सेग्मेन्टमा टीभीएस एम १ र टीभीएस नयाँ एक्स स्कुटरका साथै ई-एफएक्स ३० नामक नयाँ मोटरसाइकल देखाएको छ । पेट्रोलतर्फ टीभीएस आरटीआर हाइपर स्टन्ट र टनगेन्ट आरआर नाम दिएर नयाँ मोटरसाइकल प्रदर्शन गरेको हो ।

टीभीएस एम १ इलेक्ट्रीक स्कुटर निकै आकर्षक म्याक्सि डिजाइनमा देखिएको छ । यो अन्तर्राष्ट्रिय बजारहरूका लागि डिजाइन गरिएको नयाँ मोडल हो ।

यस स्कुटरमा १२.५ किलोवाटको मोटर र ४.३ किलोवाट आवरको ब्याट्रीप्याक रहने छ । यो ब्याट्रीलाई ब्युल्ट इन अनबोर्ड चार्जरबाट फुलचार्ज हुन करिब तीन घण्टाको समय लाग्ने छ । यसले एकपटकको फुल चार्जमा १५० किलोमिटरसम्मको रेन्ज दिनेछ । यसको टप स्पीड प्रतिघण्टा १०५ किलोमिटर रहेको छ ।

टीभीएस एक्स इलेक्ट्रीक स्कुटर नयाँ मोडल होइन । भारतीय बजारमा यो स्कुटर पहिलै उपलब्ध भइसकेको छ । टीभीएसको नयाँ एक्स इलेक्ट्रीक स्कुटर पुरानोभन्दा अझै धेरै एड्भान्स र स्मार्ट मोडल भएर आएको हो । यसमा नयाँ प्राविधिक सुविधाहरूसँगै नयाँ कनेक्टिभिटी फिचर थपिने छ । नयाँ एक्स मोडलका बारे कम्पनीले अन्य केही जानकारी खुलाएको छैन ।

ई–एफएक्स ३० टीभीएसको पहिलो इलेक्ट्रीक मोटरसाइकलको कन्सेप्ट हो । यो नेकेड र एग्रेसिभ डिजाइनमा छ । यो टीभीएसको विल्कुलै नयाँ प्लेटफर्ममा निर्माण हुने नयाँ इलेक्ट्रीक मोडल हो । यसमा नेक्स्ट जेन इलेक्ट्रीक पावरट्रेन, क्यामेरा सिस्टम, निकै एड्भान्स फिचरहरू, पूरा एलईडी लाइट, डीआरएल, बेल्ट ड्राइभको प्रयोग हुने छ ।

त्यसैगरी, आइसीई कन्सेप्ट मोडल आरटीआर हाइपर स्टन्ट कन्सेप्ट एउटा स्टन्ट सेग्मेन्टमा निर्माण हुने मोटरसाइकल हो । यसलाई कम्पनीले अर्बान स्पोर्टबाइकको दर्जा दिएको छ । यसमा पनि निकै एड्भान्स स्टन्ट इक्युप्मेन्टहरू प्रयोग हुने छ ।

त्यस्तै, टनगेन्ट आरआर सुपर स्पोर्ट डिजाइनमा छ । यसमा ४०० सीसीको नयाँ इन्जिन र मोनोकोक सबफ्रेम हुनेछ । कम्पनीले यसलाई पनि नयाँ प्लेटफर्ममा बनाउने छ । सुपर स्पोर्ट डिजाइनमा ४०० सीसीमा यो पहिलो मोडलको मोटरसाइकल हो ।


Back_to_top