नेपाल आयो २५ देखि ३२ लाख मूल्यका दुई इलेक्ट्रीक कार

काठमाडौं । साना र कम मूल्यका ईभी खोज्ने बढेसँगै २५ लाखदेखि ३२ लाख हाराहारी मूल्य पर्ने दुई नयाँ इलेक्ट्रीक कार मोडल नेपाल आएका हुन् ।

बजेट आउने मिति नजिक आएसँगै विद्युतीय कारको आयात निकै बढेको छ । विभिन्न कम्पनीले हजारौंको संख्यामा विद्युतीय कारको भन्सार छुटाउने तयारी गरेको चर्चा बजारमा चल्न थालेको छ ।

बजारमा चल्तीका मोडलको आयातले चर्चा पाइरहेको समयमा दुई इलेक्ट्रीक ह्याचव्याक मोडल नेपाल आएका हुन् । पारामाउन्ट मोटर्सले ल्याउने घोषणा गरेको विलिङ विङ्गो र वाणिज्य विकास कम्पनीले ल्याउने जनाएको लिप मोटर्सको टी-०३ नेपाल आएको हो ।

अहिले लिप मोटर्सको टी-०३ काठमाडौं उपत्यकाको विभिन्न स्थानमा परिक्षण भइरहेको छ । विलिङ विङ्गो दुई दिन भित्रै काठमाडौं आइपुग्ने कम्पनी स्रोतले जानकारी दियो ।

ईभीमा ग्राहकको आकर्षण हुनु र नयाँ बजेटपछि कर वृद्धि हुन्छ भन्ने अनुमानको आधारमा गाडी बिक्रेता र क्रेता दुबै हतारिएका छन् । यी दुबै मोडल बजेट अगाडि नै बिक्री सुरु हुने अनुमान गरिएको छ ।

विलिङ विङ्गो

पारामाउन्ट मोटर्सले ३२ लाख ९९ हजार मूल्य तोकेर विङ्गो मोडल बिक्री सुरु गर्ने यसअघि नै जानकारी दिएको थियो । कम्पनीले ल्याउन लागेको विङ्गोमा ४९ किलोवाट क्षमताको मोटर छ भने ३२ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।

साइजको आधारमा विङ्गो मोडल सब फोर मिटर एसयूभी बराबर छ । यसको लम्बाई ३९५० एमएम र चौडाई १७०८ एमएम छ । विङ्गो ह्याचव्याकमा दुई वटा १०.२५ इन्चको स्कृन, लेदर सिट, मल्टीफङ्गशनल स्टेरिङ ह्वील, रिमोट स्टार्ट, किलेस इन्ट्री, अटोमेटीक पार्किङ, ट्रयाक्सन कन्ट्रोल जस्ता आधुनिक फिचर छन् ।

लिप टी-०३

नेपाली बजारमा २४ लाख ९९ हजारदेखि २७ लाख ९९ हजारसम्म खुद्रा बिक्री मूल्य तोकेर आयात भएको टी-०३ अहिले परिक्षणमा देखिएको छ ।

दुई मोटर क्षमतामा आउने टी-०३ मा ५५ किलोवाट र ८० किलोवाट क्षमताको मोटर अप्सन पाउन सकिन्छ । यसमा ३६.५ किलोवाट आवरको ब्याट्री उपलब्ध रहेको छ ।

सिंगल चार्जमा ३०० किलोमिटर हाराहारी रेन्ज दिने ह्याचव्याकमा १५ इन्चको अलोय ह्वील, ३६० डिग्री क्यामेरा, तीन अलग ड्राइभिङ मोड लगायतका आधुनिक फिचर पाउन सकिन्छ ।

लिप मोटर्सले टी-०३ मा १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८ इन्चको टीएफटी डिस्प्ले, भिजन रुफ जस्ता फिचर छन् ।


Back_to_top