काठमाडौं । एक पटकको फुल चार्जमा ३५० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक स्कुटर नेपालमा सार्वजनिक भएको छ ।
नेपालमा क्रसफायर तथा इटालीका मोटरसाइकल बिक्री गर्दै आएको कम्पनी क्लासीक ह्वील इम्पोर्ट एण्ड एक्स्र्पोट प्रालिले ग्यारो ब्रान्डको डीटी ६० स्कुटर नेपाल ल्याएको हो ।
कम्पनीले आज क्रसफायरको महाराजगंज स्थित शोरुममा एक कार्यक्रम गर्दै स्कुटर सार्वजनिक गरेको हो । यसको बिक्री सुरू हुन भने अझै केही दिन लाग्ने कम्पनीका बजार प्रबन्धक अनुराग बमले जानकारी दिए ।
कम्पनीले दावी गरे अनुसार उक्त स्कुटरले एक पटकको फुल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिन्छ । ग्यारो डीटी ६० मा ४८ भोल्ट १८० एम्पीयर आवर (८.४६ किलोवाट अवार)को लिथियम आयोन ब्याट्री उपलब्ध छ ।
यो स्कुटरमा तीन राइड मोड उपलब्ध छ जसमा इको मोडमा ३५० किलोमिटर, ड्राइभिङ मोडलमा २८० किलोमिटर र स्पोर्टस् मोडमा २०० किलोमिटरसम्म रेन्ज उपलब्ध हुने कम्पनीको दावी छ ।

यो स्कुटरमा ४ हजार वाटको पीक पावर क्षमताको मोटर उपलब्ध छ । यसको टप स्पीड ६८ किलोमिटर प्रतिघन्टाको छ ।
कम्पनीले ३ लाख ६५ हजार रुपौयाँ तोकेर सार्वजनिक गरेको यो स्कुटरको आगामी हप्तादेखि बुकिङ सुरू हुने कम्पनीले जनाएको छ ।

