मार्चमा बजारमा आउने २ एसयूभीमा उपभोक्ताको चासो बढ्दै

काठमाडौं । मार्च महिनाबाट भारतमा बिक्री सुरू हुने दुई एसयूभीमा नेपाली उपभोक्ताको पनि चासो रहेको बुझ्न सकिन्छ । खासगरी, भारतमा उत्पादन भएर आउने रेनो र स्कोडाको एसयूभीमा चासो बढ्दै गएको हो ।

रेनोले भारतमा करिब ४ वर्षपछि पुनः बजारमा ल्याउन लागेको आफ्नो चर्चित मोडल डस्टरले राम्रै चर्चा पाइरहेको छ । नयाँ जेनेरेसन डस्टरको रूपमा आउन लागेको एसयूभी निकै स्मार्ट परिमार्जन सहित बजारमा उपलब्ध हुनेछ ।

नेपाली बजारमा एड्भान्स अटोमोबाइल्स प्रालिले बिक्री गर्ने रेनोको नयाँ उत्पादन डस्टर पक्कै पनि नेपाल ल्याउने छ । एड्भान्स अटोमोबाइल्सले आफ्नो थापाथलीमा रहेको शोरुम बन्द गर्दै नक्सालमा नयाँ शोरुम तयार गर्दैछ । त्यसैले पनि डस्टर नेपाल आउने एकिन साथ भन्न सकिन्छ ।

युरोपियन ब्राण्ड स्कोडले पनि भारतमा उत्पादन गर्दै आएको कुशाकलाई फेसलिफ्ट गरेको छ । कम्पनीका अनुसार अपडेट भएर आउन लागेको कुशाक छिट्टै नेपाली बजारमा पनि उपलब्ध हुनेछ । नेपालमा एमएडब्लू स्कोडाले यसको बिक्री वितरण गर्नेछ ।

दुई ब्राण्डले नेपाल ल्याउने नयाँ एसयूभी पेट्रोलियम पदार्थबाट चल्ने मोडल हुन् । यी दुवै मोडलमा रहेका इन्जिन, फिचर लगायतका विषयमा तल चर्चा गरिएको छ ।

१. स्कोडा कुशाक

युरोपियन ब्राण्डले ‘मेड इन इन्डिया, फर इन्डिया एण्ड द वल्र्ड’ नारासहित फेसलिफ्ट कुशाक भारतमा देखाइसकेको छ । भारतको सडक अवस्था अनुसार डिजाइन भएको कुशाक कम्पनीको ‘इन्डिया २.० रणनीति’ अन्तर्गत विकास गरिएको हो ।

स्कोडा कुशाकमा १.० लिटर र १.५ लिटर टर्बो इन्जिन दिइएको छ । यसमा रहेको १.० लिटर इन्जिनले ११५ पीएस पावर र ठूलो १.५ लिटर इन्जिनले १५० पीएस पावर प्रदान गर्छ ।

उक्त इन्जिनसँग ६ स्पीड म्यानुअल र नयाँ ८ स्पीड टर्क कनभर्टर अटोमेटिक गियरबक्स दिइएको छ । कम्पनीले ग्राहकलाई आकर्षित गर्न कुशाकमा प्रिमियम सुविधाहरू थपेको छ । यसमा सेग्मेन्टमै पहिलोपटक पछाडिको सिट मसाज, प्यानोरामिक सनरुफ दिइएको छ ।

सुरक्षाका लागि नयाँ कुशाकमा एक्टिभ र प्यासिभ गरी ४० वटा फिचर उपलब्ध हुनेछन् । वयस्क तथा बाल यात्रु दुवैका लागि क्र्यास टेस्ट रिपोर्ट अनुसार ५ स्टार रेटिङ कायम राखेको छ ।

२. रेनो डस्टर

पहिलेकोभन्दा विल्कुलै नयाँ डिजाइनमा देखाइएको रेनो डस्टर निकै आकर्षक देखिन्छ । अगाडिको बम्परभन्दा माथि दिइएको एयरड्याम, एयरड्यामको दुई साइटमा प्रयोग गरिएको फगल्याम्प निकै स्मार्ट लाग्छ ।

अगाडि प्रयोग भएको एलइडी डे टाइम रनिङ लाइट र पछाडि पनि एलईडी टेल ल्याम्प पाउन सकिन्छ । फ्रन्ट ग्रिलको माथिल्लो भागमा प्रयोग भएको ‘रेनो’को अंग्रजी लेटर, अगाडि र पछाडि नै दिइएको चंकी बम्परले मोर्डन लुक्स प्रदान गरेको छ ।

गाडीमा प्रशस्तै एजहरूको प्रयोग गरेको देखिन्छ । साथै, १७ र १८ इन्चको भेरियन्ट अनुसार फरक ह्वील र बाक्लो बडी क्लाडिङले डस्टरको बाहिरी लुक्सलाई अब्बल बनाएको देखिन्छ ।

। रेनोले यसको क्याबिनलाई प्रिमियम बनाउन कुनै कसर बाँकी राखेको छैन । सफ्ट टच मेटेरियलबाट बनेको ड्यासबोर्ड, लेदर सिट जस्ता कारण नयाँ डुटर निकै राम्रो लाग्छ ।

फुल डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस फोन चार्जर, ड्यासबोर्डको बीचमा ठड्याइएको ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, पानारोमिक शनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, अटोमेटीक क्लाइमेट कन्ट्रोलको सुविधा दिइएको छ ।

सुरक्षाको लागि गाडीमा एयरब्यागको अलवा एडास भित्रका ढेड दर्जन फिचर पाउन सकिन्छ । ३६० डिग्री क्यामेरादेखि एडाप्टिभ क्रुज कन्ट्रोलसम्म पाउन सकिन्छ ।

भारतमा प्रि-बुकिङ खुल्ला भएको नयाँ डस्टरमा १.० लिटर टर्बो पेट्रोल, १.३ लिटर टर्बो पेट्रोल र १.८ लिटर टर्बो इन्जिनसँग स्ट्रङ हाइब्रिड टेक्नोलोजी उपलब्ध हुनेछ ।

कम्पनीले दिएको जानकारी अनुसार १.० लिटर इन्जिनसँग कुनै किसिमको हाइब्रिड टेक्नोलोजी हुनेछैन । १.३ लिटर इन्जिनसँग भने माइल्ड हाइब्रिड टेक्नोलोजी हुनेछ । स्ट्रङ हाइब्रिड मोडलले भने मारुती सुजुकी ग्राण्ड भिटाराको हाइब्रिडलाई टक्कर दिनेछ ।

१.३ लिटर टर्बो इन्जिनसँग म्यानुअल र अटोमेटीक दुवै गियरबक्स अप्सनको रूपमा आउने छ । तर, १.० लिटर इन्जिन भने म्यानुअल गियरबक्समा मात्रै उपलब्ध हुन्छ ।

सबैभन्दा ठूलो १.८ लिटर इन्जिनमा भने ८ स्पीड डीएचटी गियरबक्स हुनेछ । यसको इन्जिनले प्रदान गर्ने पावरको विषय भने खुलाइएको छैन ।

१.० लिटर इन्जिनले अधिकतम १०० पीएस पावर र १६० न्युटन मिटर टर्क प्रदान गर्छ । जबकि, १.३ लिटर इन्जिनले १६० पीएस पावर र २८० न्युटन मिटर टर्क प्रदान गर्छ ।


Back_to_top