नयाँ पल्सर १५० मोटरसाइकलको बुकिङ खुला

काठमाडौं । बजाज नेपालले पल्सर १५० मोटरसाइकलको नयाँ भर्सनको बुकिङ खुला गरेको छ ।

नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले पल्सर १५० मोटरसाइकलको नयाँ २०२६ भर्सनको आजदेखि बुकिङ खुलाएको हो ।

पल्सर १५० मोटरसाइकलको २०२६ नयाँ भर्सन भारतमा २०२५ डिसेम्बरको अन्तिममा सार्वजनिक भएको थियो । कम्पनीले भारतमा लन्च भएको दुई महिना पछि नेपालमा बुकिङ लिन थालेको हो ।

नेपालमा कम्पनीले नयाँ भर्सनको बुकिङ खुलाए पनि मूल्य र डेलिभरी गर्ने मिति भने तोकेको छैन । भारतमा नयाँ भर्सन पल्सर १५० को मूल्य १ लाख ८ हजार भारु (एक्स शोरुम) छ ।

यस मोटरसाइकलमा बजाजले सन् २०१० पछि सबैभन्दा ठूलो परिवर्तनहरू गरेर बजारमा ल्याएको थियो । सोही भेरियन्ट नेपाली बजारमा आउने भएको हो ।

नयाँ पल्सर १५० मा हेडल्याम्प र टर्न इन्डिकेटरहरू एलईडी सेटअपमा दिइएको छ । जसले पुरानोभन्दा निकै भिजिबलिटी बढाएको छ ।

मोटरसाइकलमा नयाँँ ग्राफिक्ससँगै नयाँ कलर अप्सन, सिंगल च्यानल एबीएस, पूरा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र एफआई बीएस ६ सिस्टम पनि थपिएको छ ।

यसका अलावा मोटरसाइकलको बडी डिजाइन र इन्जिन पावर फिगरमा भने कुनै परिर्वतन गरिएको छैन । यसमा पहिले जस्तै इन्धन ट्यांकी, क्लिप अन ह्याण्डलबार, स्प्लिट सिट, अलोय ह्वील र एग्जस्ट रहेको छ ।

पल्सरमा १४९ सीसी सिगंल सिलिण्डर, एयर कुल्ड, एफआई बीएस ६ इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १४ पीएस पावर र १३.४ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स छ भने यसको टप स्पीड ११५ किलोमिटर प्रतिघण्टा रहेको छ ।

बजाज पल्सर १५० नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल मध्यको एक हो । सन् २०२५ मा नेपालमा आयात भएका मोटरसाइकल मध्ये पल्सर १५० शीर्ष स्थानमा छ । यो वर्ष १८ हजार ९४८ युनिट आयात भएको छ ।


Back_to_top