काठमाडौं । दुईपाँग्रे राइड सेयरिङ सेवा प्रदायकले १० वर्ष मुनिका बालबालिकम बोक्न नपाउने व्यवस्था गरिने भएको छ ।
यातायता व्यवस्था विभागले तयार पारेको ‘डिजिटल मोबिलिटी सेवा सञ्चालन सम्बन्धी मापदण्ड २०८२’ को मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।
मस्यौदमा डिजिटल मोबिलिटी सेवा प्रदान गर्ने दुईपाँग्रे सवारी साधनले सेवा दिन नपाउने व्यक्तिहरू तोकिएको छ । जसमा १० वर्ष उमेर नपुगेका बालबालिका, मानसिक स्थिति, स्वास्थ्य स्थिति खराब भई सहारा दिनु पर्ने व्यक्तिलाई यात्रीको रुपमा चढाई सेवा दिन नपाउने व्यवस्था गरिएको छ ।
तर, हेरचाह गर्ने अभिभावक वा आफन्त सहित सेवा लिन चाहेमा चारपाँग्रे सवारी मार्फत भने सेवा दिन सक्ने मस्यौदामा उल्लेख छ ।
‘दश वर्ष उमेर नपुगेका बालबालिका तथा मानसिक स्थिति, स्वास्थ्य स्थिति खराब भई सहारा दिनु पर्ने व्यक्तिलाई दुई पाङग्रे सवारीमा यात्रीको रुपमा चढाई सेवा दिनुहुँदैन तर हेरचाह गर्ने अभिभावक वा आफन्त सहित सेवा लिन चाहेमा चार पाङग्रे सवारी मार्फत यात्रीको रुपमा चढाई सेवा दिन सकिनेछ,’ प्रस्तावित मस्यौदामा भनिएको छ ।
विभागले राइड सेयरिङ जस्ता प्लेटफर्म मार्फत यातायात सेवालाई सुरक्षित, भरपर्दो बनाउन, सवारीको नियमन र व्यवस्थापन गर्न केन्द्रीय मापदण्ड तयार गर्न लागेको हो ।
विभागका अनुुसार हाल उक्त मापदण्डको मस्यौदा सरोकारवालाहरूको छलफलको क्रममा छ । छलफलपछि प्राप्त सुझावहरू समेटी स्वीकृतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइने विभागले जनाएको छ । मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएपछि उक्त मापदण्ड कार्यान्वयनमा आउने छ ।

