कारमा हुने फिचर भएको स्कुटर नेपाल आउँदै

काठमाडौं । अल्ट्राभोइलेटको पहिलो इलेक्ट्रीक स्कुटर नेपाल आउने भएको छ । कम्पनीले आगामी अटो शोमा ‘अल्ट्राभोइलेट टेसेराक्ट’ स्कुटर प्रदर्शन गर्ने भएको हो ।

अल्ट्राभोइलेट इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता केडिया अर्गनाइजेशनले अल्ट्राभोइलेट टेसेराक्ट नेपाल ल्याउने भएको हो ।

भारतमा निकै चर्चा कमाएको इलेक्ट्रीक स्कुटर आगामी अटो शोमा प्रदर्शन गर्ने तयारी भइरहेको बताउँदै केडिया अर्गनाइजेशनका ब्यापार प्रमुख नवराज कोइरालाले भने, ‘भारतमा बुकिङ खुलेको दुई हप्तामै ५० हजार युनिटभन्दा धेरै बुकिङ भएको टेसेराक्ट स्कुटर आगामी अटो शोमा प्रर्दशन गर्ने तयारी गरिरहेका छौं ।’

भारतमा धेरै बुकिङ भएको कारण नेपालमा अटो शोदेखि बिक्री गर्न नसकेता पनि अटो शोमा प्रदर्शनमा राखिने कोइरालले बताए ।

कम्पनीले १ लाख ४५ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) मूल्य तोकेर अल्टाभोइलेट ‘टेसेरेक्ट’ सार्वजनिक गरेको थियो । कम्पनीले पहिलो २० हजार ग्राहकलाई १ लाख २० हजार रुपैयाँमै दिने कम्पनीले घोषणा गरेको थियो ।

कम्पनीका अनुसार यो स्कुटरमा कारमा हुने फिचरहरू दिइएको छ । यसको डिजाइन कमब्याट हेलिकप्टरबाट प्रेरित छ । विग साइज देखिने यो स्कुटरमा ३४ लिटरको अन्डर सिट स्टोरेज क्षमता दिइएको छ ।

फिचर लोडेड यो स्कुटरको अगाडि पछाडि नै राडार दिइएको छ । यसमा कारमा जस्तै ब्लाइण्ड स्पट डिटेक्सन, ओभरटेक अर्लट, ड्यासक्याम, ७ इन्च टीएफटी डिस्प्ले, नेभिगेशन, फ्लोटिङ डिआरएल, डबल एलइडी प्रोजेक्टर, वायरलेस स्मार्टफोन चार्जर, डबल च्यानल एबीएस, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर छन् ।

यसमा १५ किलोवाट क्षमतको मोटर दिइएको छ । यसको टप स्पीड १२५ किलोमिटर प्रतिघन्टा छ । यसले ०-६० को स्पीड मात्र २.९ सेकेन्डमा पुरा गर्छ । यो स्कुटरलाई एक पटकको फुल चार्जमा २६१ किलोमिटर गुडाउन सकिने दावी गरिएको छ ।


Back_to_top