काठमाडौं । तपाई धेरै किसिमका गाडीका शोरुममा जानु भएको छ भने त्यहाँ गाडी बेच्ने सेल्स म्यान हुन्छन् । उनिहरुले गाडीको बारेमा बताउँछन्, टेस्ट ड्राइभ गराउँछन् र गाडी बुकिङ लिन्छन् ।
अझ, ब्यस्त देशहरुमा सेल्स म्यानसँग टाढै रहेर गाडी किन्नेहरु पनि बढ्दै गएका छन् । सेल्स म्यानले धेरै कुरा बुझाएर गाडी किन्न दवाव सृजना गर्छ भन्ने लाग्ने उपभोक्तालाई ध्यानमा राखेर चिनियाँ कार ब्राण्ड चेरीले नयाँ प्रयोग गर्ने भएको छ ।
चेरीले सांघाई अटो शोमा देखाएको ‘शोरुममा गाडी बिक्री गर्ने रोबर्टहरु’ अहिले विश्वभर चर्चामा छन् । महिलाको बनोटमा तयार भएको उक्त रोवर्टको लामो कपाल, महिलाको जस्तै छाति र सभ्य हाउभाउ देखिन्थ्यो ।
चेरीका अनुसार उसले बनाएको रोबर्ट हिडडुल गर्न सक्छ । ग्राहकसँग दोहोरो सम्वाद गर्न सक्छ । ग्राहकलाई पेय पदार्थ दिन र उसले सोधेका प्रश्नको जवाफ दिन सक्षम छ ।
करिब ५७ हजार अमेरिकी डलर मूल्य पर्ने बताइएको उक्त रोवर्ट प्रयोगमा नै आइसकेको कम्पनीको दावी छ । चेरीका अनुसार मेलेशियाको एक शोरुममा उक्त रोवर्ट प्रयोगमा छ ।
मोर्निन नाम दिइएको उक्त रोवर्टको प्रयोग युवा उपभोक्ताले मन पराउने चेरीको दावी छ । सांघाई अटोमा देखाइएको कारण यसको चर्चा धेरै भएको हो । वास्तवमा चेरीको रोवर्ट कम्पनी एइमोगाको प्रचारको लागि यो उपयोगी बन्यो । चेरी एइमोगा कम्पनीले रोवर्ट कुकुरहरु पनि बनाएको छ । कुकुरको हेरचाह गर्न नसक्ने तर, कुकुर पाल्ने रहर भएका मानिसहरुले यसलाई खरिद गरिरहेका छन् ।
चेरी इन्टरनेशनलका अध्यक्ष झाङ गुइबिङ रोवर्टहरु भोलिका दिनमा अटोमोबाइल क्षेत्रको लागि वास्तविक भविष्य ठान्छन् ।