तीन नयाँ इलेक्ट्रीक ह्याचव्याक कार नेपाल आउँदै

काठमाडौं । विद्युतीय गाडीको आकर्षण बढ्दै जाँदा एकपछि अर्को नयाँ मोडल नेपाल आउने तयारी गरिरहेका छन् । सन् २०२२ मा करिब २ हजार १ सय यूनिट ईभी आयात भएसँगै थप नयाँ मोडल नेपाल ल्याउने तयारीमा आयातकर्ताहरु जुटेका छन् ।

सन् २०२३ को पहिलो ६ महिना भित्रै तीन नयाँ मोडलका ह्याचव्याक कार नेपाल आउने भएका छन् । जसमा एमजी, बीवाइडी र टाटाका उत्पादन छन् । यी मध्ये सबैभन्दा पहिला टाटाको टियागो ह्याचव्याक नेपाल आउने छ । त्यसपछि एमजी फोर र बीवाइडी डल्फीन ह्याचव्याक नेपाल आउने छ ।

खासगरी नेपालमा इलेक्ट्रीक कारको बजार विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका यी तीनवटै ब्राण्ड सर्भिस, नेटवर्क र चार्जिङ पूर्वाधार निर्माणमा पनि काम गरिरहेका छन् । त्यसैले यी ब्राण्डका साधन प्रयोग गर्नेहरु धेरै दहसम्म ढुक्क देखिन्छ । त्यसैले तीनवटै ब्राण्डले पहिलो पटक ल्याउन लागेको ह्याचव्याक कारको चर्चा सुरु हुनु स्वभाविक हो ।

टाटा टियागो ईभी

विशेषगरी कम मूल्य र परिचित डिजाइन टियागोको पक्षमा जान्छ । टाटाले फास्ट चार्जिङ नेटवर्क समेत विस्तार गरेको कारण टियागो किन्नेले उपत्यका बाहिरको यात्रा पनि गर्न सक्ने छन् । यद्यपि लङ रेन्ज भर्सनमा नै २४ किलोवाट आवरको ब्याट्री मात्र उपलब्ध रहँदा हाइवे यात्रामा यसको प्रयोग केही कठिन हुनसक्छ ।

सहरको लागि यो पर्फेक्ट ह्याचव्याक बन्ने देखिन्छ । टियागो ह्याचव्याकमा टाटाले डीसी फास्ट चार्जिङ पोर्ट समेत उपलब्ध गराएको छ । यसलाई डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ । सामान्य होम चार्जरले चार्ज गर्दा भने फुलचार्ज गर्नका लागि ८ घण्टासम्म लाग्नेछ ।

कम्पनीका अनुसार टियागो ईभीले २४ किलोवाट आवरको ब्याट्री प्याक भर्सनले एक पटकको फुलचार्जमा ३१५ किलोमिटर र १९.२ किलोवाटआवर ब्याट्री प्याक भर्सनले २५० किलोमिटरको रेन्ज दिनेछ । तर, यसको बास्तविक रेन्ज २०० किलोमिटर हाराहारी हुनेछ ।

टाटा टियागोमा ५५ किलोवाट क्षमताको मोटर दिइएको छ । त्यो भनेको ७४ ब्रेकहर्स पावर हो । साथै, १७० न्यूटन मिटरको टर्क यसमा पाउन सकिन्छ । टियागो ईभीमा सिटी र स्पोर्टस गरी दुईवटा ड्राइभ मोड पाउन सकिन्छ । टियोगो ईभीमा ४ लेभलको रिजेनेरेसन ब्रेकिङ मोड रहेको छ ।

टियोगो ईभीमा ४५ थरी फिचर रहेको जी–कनेक्ट स्ट्याडर्ड फिचरको रूपमा रहेको छ । एप्पल कारप्ले र एन्ड्रोइड अटो फिचर कनेक्टिभिटी रहेको टियोगो ईभीमा ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर रहेको छ ।

टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रुज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट–स्टप जस्ता फिचरहरू रहेका छन् ।

एमजी फोर

एमजी जेडएस नेपालमा निकै सफल मोडल मानिन्छ । चालु आबको बजेटले कर वृद्धि गरेसँगै यसको विक्री सुरु हुन सकेको छैन । पारामाउन्ट मोटर्सले इलेक्ट्रीक क्रसओभर एमजी फोर नेपाल ल्याउने तयारी थालेको छ । यूरो एनक्याप क्रयास टेष्टमा ५ स्टार रेटिङ पाएको एमजी फोर निकै सुरक्षीत र प्योर इलेक्ट्रीक प्लेटफर्ममा बनेको कार हो ।

एमजीले नयाँ क्रसओभर मोडललाई अन्तर्राष्ट्रिय बजारमा दुई ब्याट्री अप्सन र तीन मोटर अप्सनमा ल्याएको छ । यसमा १२५ किलोवाट, १५० किलोवाट र ३१५ किलोवाटको मोटर रहेको छ ।

यसमा ५१ किलोवाट आवर र ६४ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ । सानो ब्याट्री प्रयोग भएको भर्सनले सिंगल चार्जमा ३५० किलोमिटर र ठूलो ब्याट्री भएको लङ रेन्ज मोडलले ४५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ ।

एमजीको नयाँ ‘एड्भान्स मोडुलर स्केवल प्लेटफर्म (एमएसपी) आर्किटेक्चर’मा तयार भएको यो कार रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुनेछ । यो कारको ड्राइभिङ एक्सपीरियन्स राम्रो बनाउन एमजीले कुनै कसर बाँकी नराखेको जनाएको छ ।

निकै पातलो साइजको ब्याट्री प्रयोग भएको कारले सून्यदेखि १०० किलोमिटरको स्पीड भेट्टाउन ८ सेकेन्ड लगाउँछ । यसको टप स्पीड क्षमता भने १६० किलोमिटर प्रतिघन्टा रहेको छ । सन् २०२३ को मध्यसम्ममा एमजी फोर नेपालमा विक्री सुरु हुनेछ ।

डल्फीन

यसअघि एसयूभी र एमपीभी मात्रै विक्री गर्दै आएको साइमेक्स इंकले बीवाइडीको डल्फीन ह्याचव्याक नेपाल ल्याउने छ । मोर्डन डिजाइन, उत्कृष्ट रेन्ज र आकर्षक मूल्यमा आउने डल्फीन सुरक्षा र आरामदायीताको लागि परिचित कार हो । अहिले चीनमा मासिक २५ हजार यूनिट डल्फीन विक्री हुँदै आएको छ ।

बीवाइडीको ३.० प्लेटफर्म र एलएफपी ब्लेड ब्याट्रीको साथमा आउने ह्याचव्याक कारमा निकै लामो २७०० एमएमको ह्वीलवेस पाउन सकिन्छ । डल्फीनमा १६ र १७ इन्चको अलोय ह्वील दिइएको छ ।

डल्फीनमा फ्ल्याटवटम मल्टी फङ्गशनल स्टेरिङ ह्वील, एटो थ्रीमा रहेको ५ इन्च फुल एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १२.८ इन्चको फ्लोटीङ सेन्ट्रल कन्ट्रोल स्कृन, इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने सिट, पछाडि पनि आमरेष्ट रहेको छ ।

सुरक्षाको लागि अब्बल बनाउन फ्रन्ट पार्किङ राडार, सिट बेल्ट वार्निङ लाइट, टायर प्रेसर मोनिटर जस्ता आधुनिक फिचर पाउन सकिन्छ । कम्पनीले यसमा इनर्जी सेभिङ, स्नो, स्पोर्टस् र कम्फर्ट मोड दिइएको छ ।

निकै आकर्षक र लग्जरी फिचरले भरिपूर्ण डल्फीन ह्याचव्याकमा फ्रन्ट ह्वीलमा पर्मानेन्ट म्याग्नेट सिंक्रोनास मोटर दिएको छ । कम्पनीले यसमा दुई मोटर अप्सन दिएको छ । एउटा ७० किलोवाट पावर र १८० एनएम टर्क प्रदान गर्न सक्षम छ भने अर्को १३० किलोवाट पावर र २९० एनएम टर्क प्रदान गर्न सक्षम छ । नेपाली बजारमा ७० किलोवाट क्षमताको मोटरमा आउने छ ।

सून्यदेखि १०० किलोमिटरको स्पीड १०.९ सेकेन्डमा भेट्टाउन सक्ने यो कारमा ४४.९ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । यसले सिंगल चार्जमा ४२० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ ।


Back_to_top