काठमाडौं । विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीका बीच भारतमा कार विक्रीमा नयाँ रेकर्ड देखिएको छ । सन् २०२२ मा भारतमा ३५ लाख यूनिटभन्दा धेरै कार विक्री भएका छन् ।
कोभिड १९ को संक्रमण सुरु भएसँगै कमजोर देखिएको कार विक्रीमा २०२२ मा उत्साह फर्केको भारतीय अटोमोवाइल उत्पादकहरुले जनाएका छन् । यस बीचमा भारतकै सबैभन्दा ठूलो कार निर्माता मारुती सुजुकीले १५ लाख ७६ हजार २५ यूनिट कार विक्री गरेको छ । यो भारतीय बजारमा मात्रै विक्री भएको संख्या हो । मारुती सुजुकीले भारतमा ४२ प्रतिशत हाराहारी बजार हिस्सा ओगटेको छ ।
कोरियन कार निर्माता हुन्डाई र टाटाले पनि यो वर्ष भारतमा रेकर्ड विक्री गरेका छन् । हुन्डाईले ५ लाख ५२ हजार ५११ यूनिट कार भारतमा विक्री गर्दा झण्डै २ लाख यूनिट कार भारतमा उत्पादन गरेर निर्यात गरेको हो । अहिले हुन्डाईले भारतको आन्तरिक बजारमा १५ प्रतिशत हाराहारी बजार लिन सफल रहेको छ ।
भारतीय अटो जाइन्ट टाटाले यो वर्ष कार विक्रीमा थुप्रै नयाँ रेकर्ड बनाएको छ । कम्पनीले सन् २०२२ को तीन महिनाको विक्रीमा हुन्डाईलाई पछि पारेको थियो । कम्पनीले ५ लाख २६ हजार ८१९ यूनिट कार भारतमा विक्री गर्दै १४.५ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ ।
भारतीय बजारमा मारुती सुजुकी, हुन्डाई र टाटाले मात्रै करिब ७१ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएका छन् । यी कम्पनीलाई महिन्द्रा, किया, टोयोटा लगायतका ब्राण्डले पच्छाई रहेका छन् ।
भारतमा विक्री रेकर्ड कायम हुँदा भने नेपालमा भने दशककै सबैभन्दा कमजोर विक्री भयो । लगातार लगाइएको आयात प्रतिबन्ध, बजारमा लगानी योग्य रकम अभाव, बढ्दो ब्याजदर लगायत कारणले नेपालमा कारको विक्री ८ हजार यूनिट हाराहारी मात्रै भयो ।


