नयाँ वर्षमा नेपाल आउने ५ एसयूभी, मूल्य २८ लाखदेखि करोड माथि

काठमाडौं । नेपाली नयाँ वर्षको अवसर पारेर विभिन्न कम्पनीले नयाँ मोडल नेपाली बजारमा ल्याउने तयारी गरिरहेका छन् । प्रोटोनले आफ्नो दोस्रो एसयूभी एक्स५० देखि महिन्द्राको नयाँ एसयूभीसम्म नेपाली बजारमा आउने तयारीमा छन् ।

बढ्दो एसयूभी बजारलाई मध्यनजर गर्दै कम्पनीहरुले एकपछि अर्को एसयूभी नेपाली बजारमा ल्याउने तयारी गरिरहेका हुन् ।

प्रोटोन एक्स ५०ः प्रोटोनको आधिकारीक वितरक जगदम्बा मोटर्सले भोलि चैत ९ गते आफ्नो दोस्रो एसयूभी एक्स ५० को विक्री सुरु गर्दैछ । कम्पनीले यसअघि विक्री गर्दै आएको एक्स ७० को तुलनामा केही सानो साइजमा उपलब्ध एक्स ५० फिचर लोडेड एसयूभी हो । कम्पनीले ७१ लाखदेखि ८५ लाखसम्मको मूल्य कायम गरेर एक्स ५० को विक्री सुरु गर्न लागेको हो ।

विशेषत आधुनिक फिचरले भरिएको एक्स ५० मा लेभल २ अटोनोमस ड्राइभिङ सिस्टम पाउन सकिन्छ । यसको टप स्पेकमा अटो पार्किङ मोडसमेत रहेको छ । यसमा १.५ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन उपलब्ध रहेको छ ।

टाटा पन्चः टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले अर्को बहुप्रतिक्षित माइक्रो एसयूभी पन्च सार्वजनिक गर्दैछ । कम्पनीले बैशाखको दोस्रो हप्तासम्ममा नै विक्री सुरु गर्ने अपेक्षा गरिएको पन्च साइज र ५ स्टार सेफ्टी रेटिङको कारण चर्चामा रहेको मोडल हो ।

टाटाले यसमा १.२ लिटर क्षमताको इन्जिन दिएको छ । साथै, आधुनिक फिचर लोडेड पन्च उच्च माइलेज र कम मूल्यको लागि पनि परिचित मोडल हो । सम्भवत नेपाली बजारमा २८ लाखदेखि ४० लाख भित्रै यसको मूल्य कायम हुने अनुमान गरिएको छ ।

बीवाइडी एटो-३ः बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले एटो–३ पनि बैशाखमा नेपाल ल्याउने मोडल हो । बजारमा चल्तीका मोडल क्रेटा, सेल्टोस, कुशक, टाइगुन, किक्स र जेडएस इभी जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्न आउने एटो–३ पूर्ण इलेक्ट्रीक मोडल हो ।

बीवाइडीको चर्चित ब्लेड ब्याट्री प्रयोग भएको एटो–३ मा ५१ र ६० किलोवाट आवर क्षमताका दुई ब्याट्री अप्सन रहने छन् । नेपाली बजारमा यसको मूल्य एमजी जेडएस इभीको हाराहारी नै रहने अपेक्षा गरिएको छ ।

महिन्द्रा बोलेरो नियो/एक्सयूभी ७००ः महिन्द्राको आधिकारीक वितरक अग्नी इनकर्पोरेट प्रालिले बोलेरो नियो र एक्सयूभी ७०० एकै पटक नेपाल ल्याउनेगरी तयारी गरिरहेको छ । बोलेरो नियो यसअघि विक्री हुने टीयूभी ३०० को फेसलिफ्ट मोडल हो भने एक्सयूभी ७०० महिन्द्राको अल न्यू मोडल हो ।

महिन्द्राले भारतमा निकै राम्रो संख्यामा बुकिङ लिएको एक्सयूभी ७०० उत्कृष्ट एसयूभी प्रमाणित भइसकेको छ भने बोलेरो नियोले पनि निकै राम्रो ब्यापार गरिरहेको छ । यी दुबै गाडी बैशाख अन्तिम वा जेठको सुरुमा विक्री सुरु हुने अनुमान गरिएको छ । एक्सयूभी ७०० को मूल्य ६० लाखदेखि १ करोड २० लाखसम्म हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top