फागुनमा विक्री सुरु हुँदै ३ नयाँ कार

काठमाडौं । फागुन महिनामा नयाँ तीन मोडलका कारको आधिकारीक विक्री सुरु हुने भएको छ । फागुनमा विशेषगरी हुन्डाई, फोर्स र टाटाले नयाँ गाडी विक्री सुरु गर्न लागेका हुन् ।

फागुन महिनामा विक्री सुरु हुने नयाँ कारमा दुई इलेक्ट्रीक मोडल हुन् भने एउटा अफरोड एसयूभी हो । हुन्डाईले नेपाल ल्याएको प्रिमियम इलेक्ट्रीक क्रसओभर यही हप्ताको बिहिवारसम्ममा विक्री सुरु हुने अनुमान गरिएको छ ।

त्यसैगरी फोर्सको गुर्खा एसयूभी पनि नेपाल आइसकेको छ । कम्पनीले यसको आधिकारीक विक्री फागुनको अन्तिम साता गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।

टाटाको इलेक्ट्रीक सेडान टिगोर पनि यही महिनाबाट विक्री सुरु गर्ने तयारी भइरहेको कम्पनी स्रोतले जानकारी दिएको छ । यद्यपी टाटा टिगोर भने नेपाल आइपुगेको छैन ।

हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल ल्याएको आयोनीक ५ मा ५८ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । उक्त व्याट्रीलाई एक पटककको फुल चार्जमा ३५० किलोमिटरसम्म चलाउन सकिन्छ ।

यो हुन्डाईको ८०० भोल्ट आर्किटेक्चरमा तयार भएको क्रसओभर एसयूभी हो । त्यसले यसमा ३५० किलोवाट क्षमतासम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्न सक्ने क्षमता रहेको छ ।

हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम फोर्स नेपालले नेपाल ल्याएको गुर्खा अफरोड एसयूभी बल्की डिजाइन, टु ह्वील र फोर ह्वील ड्राइभ सिस्टम, मर्सिडिजको २.६ लिटर डिजेल इन्जिन, सुरक्षाको लागि एयरव्याग, एबीएस, इबीडी, रिभर्स पार्किङ सेन्सर जस्ता फिचरको कारण चर्चामा रहेको मोडल हो । करिब ७० देखि ७२ लाख हाराहारी मूल्य पर्ने यो एसयूभी अफरोड यात्रा गर्नेको रोजाइमा पर्नेछ ।

सिप्रदी ट्रेडिङले नेपाल ल्याउन लागेको टिगोर इभीमा २६ किलोवाट आवरको व्याट्री दिइएको छ । टाटाको जीपट्रोन टेक्नोलोजीमा तयार भएको टिगोर इभीलाई एक पटकको फुल चार्जमा ३०६ किलोमिटर गुडाउन सकिने एआरएआईले प्रमाणित गरेको भएपनि यसले सडकमा २१० किलोमिटर हाराहारी रेन्ज दिने अनुमान गर्न सकिन्छ । टाटा टिगोर ५५ किलोवाट क्षमताको मोटर दिइएको छ । यसमा १७० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।


Back_to_top