एक दर्जनभन्दा बढी नयाँ मोडलका कार नेपाल आउँदै

काठमाडौं । नेपाली बजारमा नयाँ मोडलका कार ल्याउन आयातकर्ता कम्पनीहरु जुटेका छन् । निसानले केहि दिनअघि म्याग्नाइट बजारमा ल्याएसँगै अन्य ब्राण्डले पनि नयाँ मोडलका गाडी नेपाल ल्याउने प्रक्रियालाई तिब्र बनाएका हुन् ।

टाटाले पनि नयाँ नेक्सन, टियागो र टिगोर नेपाल ल्याइसकेको छ भने एच५ र अल्ट्रोजको बीएस ६ इन्जिन भएको गाडी पनि नेपाल ल्याएको छ । योसँगै टाटाले नेपालमा विक्री गर्ने सबै मोडलमा बीएस ६ इन्जिन उपलब्ध भएको छ । टाटाले केहि दिनअघि मात्रै भारतमा सार्वजनिक भएको नयाँ जेनेरेशन सफारी पनि केहि महिना भित्रै नेपाल ल्याउने अनुमान गरिएको छ ।

रेनोले भारतमा उत्पादन गरेको सब फोर मिटर एसयूभी काइगर पनि केहि समय भित्रै नेपाल आउने भएको छ । नयाँ काइगर नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको कम्पनीको भनाई छ ।

सुजुकीले जापानमा उत्पादन भएको ग्राण्ड भिटारा नेपाल ल्याउने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । आधिकारीक वितरक सिजी मोटोकर्पले यसको बुकिङसमेत लिइरहेकाले चाँडै भिटारा नेपाल आउने अनुमान लगाउन सकिन्छ ।

त्यसैगरि स्कोडाको आधिकारीक वितरक एमएडब्ल्यू इन्टर प्राइजेज्ले नयाँ कोडियाक नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले चेकमा उत्पादन भएको कोडियाक नेपाल ल्याउने जनाएको छ ।

हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इनटरकन्टिनेन्टलले तीन नयाँ मोडल नेपाल ल्याउने छ । कम्पनीले नयाँ जेनेरेशन आई २०, नयाँ जेनेरेशन टुसान र प्रिमियम एसयूभी प्लासाइड नेपाल ल्याउने छ । हुन्डाईका यी गाडी दुई महिनापछि नेपाल आउने अनुमान गरिएको छ ।

महिन्द्राले दुई नयाँ कार नेपाल ल्याउने छ । कम्पनीले नयाँ जेनेरेशन थार र इलेक्ट्रीक केयूभी १०० नेपाल ल्याउने अनुमान गरिएको छ । अग्नी इन्कर्पोरेट प्रालिले चैत अन्तिमसम्ममा नै नयाँ जेनेरेशन थार नेपाली बजारमा ल्याउने तयारी गरिरहेको बुझिएको छ । साथै, महिन्द्रा एक्सयूभी ३०० को अटोमेटिक भेरियन्ट पनि चाँडै नेपाल आउने अर्को मोडल हो ।

एमजी (मोरिस ग्यारेज)ले नयाँ एसयूभी एचएस नेपाल ल्याउने छ । दुई हप्ता भित्रै नेपाल आउने अनुमान गरिएको एचएस एमजीको नयाँ मोडल हो । साथै, विगत एक वर्षदेखि आयात हुन नसकेको एमजीको इलेक्ट्रीक कार इजेडएस पनि नेपाल आउन लागेको छ ।


Back_to_top