काठमाडौं । नेपाली बजारमा अहिलेसम्म उपलब्ध नभएको तर अन्तर्राष्ट्रिय बजारमा निकै ठूलो चर्चाको विषय बन्दै आएको इलेक्ट्रीक कार नेपाल आउने भएका छन् । नेपाल आउन लागेको दुई कारमा एउटा बीवाइडी सिगल ह्याचव्याक कार हो ।
अन्तर्राष्ट्रिय बजारमा निकै राम्रो प्रभाव छाड्दै आएको बीवाइडी सिगल अब भने नेपाल आउने भएको हो । आधिकारीक बिक्रेता साइमेक्स इंकले आधिकार जानकारी नदिएपनि कम्पनीले आगामी नोभम्बर वा डिसेम्बरसम्ममा सिगल ह्याचव्याक कारको बिक्री सुरु गर्नेगरी काम गरिरहेको बुझिएको छ ।
अर्को हुन्डाईको सर्वाधिक सफल एसयूभी क्रेटाको इलेक्ट्रीक भर्सन पनि नयाँ वर्ष २०२५ को सुरुवातसँगै नेपाली बजारमा प्रबेश गर्ने आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल स्रोतले जानकारी दियो । कम्पनीले ठ्याक्कै कुन मितिमा यसलाई बजारमा ल्याउँछ भन्ने जानकारी नदिएपनि जनवरी २०२५ मा आउने पक्का छ ।

यी दुबै कार आफ्नो आफ्नो सेग्मेन्टमा चर्चित मोडल हो । बीवाइडी सिगल कम्पनीको इन्ट्री लेभल मोडल हो । उता हुन्डाई क्रेटा भारतमा उत्पादन भएको कम्पनीको सबैभन्दा सफल एसयूभी हो । यस्तोमा यी दुई फरक सेग्मेन्ट र मूल्यमा आउन लागेका नयाँ ईभीले बजारलाई कस्तो प्रभाव पार्छन्, त्यो हेर्न भने अझै केही महिना कुर्नु पर्ने हुन्छ ।
चीनमा सफलताको स्वाद चाखेसँगै लेफ्ट ह्याण्ड ड्राइभ भएका यूरोप र दक्षिण अमेरिकी देशहरुमा बीवाइडी सिगल उपलब्ध छ । भारत, अष्ट्रेलिया, थाइल्याण्ड जस्ता देशमा बीवाइडीका कारको माग बढ्न थालेसँगै कम्पनीले राइट ह्याण्ड ड्राइभमा पनि सिगल उपलब्ध हुने भएको हो ।

हुन्डाईले भने आफ्नो सफल एसयूभीको इलेक्ट्रीक भर्सन अहिले कोरिया र भारतको विभिन्न स्थानमा परीक्षण गरिरहेको छ । कम्पनीले डिसेम्बरमा यसलाई सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

