क्यूट-०२ भिडियो रिभ्यूः यी हुन् उत्कृष्ट र कमजोर पक्ष

काठमाडौं । विद्युतीय कारको प्रयोग बढेसँगै नेपालमा साना-ठूला सबै किसिमका कारहरु आइरहेका छन् । साना मिनी कारदेखि ठूला लग्जरी एसयूभीसम्म ईभीकै बिक्री र चर्चा चलिरहेको छ ।

केईले नाडा अटो शो २०२४ बाट सार्वजनिक गरेको केई क्यूट-०२ एक मिनी कार हो । साइजमा सानो र फिचर लोडेड कार क्यूट-०२ सहरी क्षेत्रमा यात्रा गर्न उपयुक्त मोडल हो । लक्ष्मी इमोविलीटीले नेपाल ल्याएको मिनी कारलाई हामीले काठमाडौंको नक्सालदेखि काभ्रेको नमोबुद्धसम्म चलाएर हेरेका थियौं ।

कार नै किनिसकेपछि उपत्यका वरपरका स्थानमा घुम्न जान मनलाग्दा पनि जान सकिएन भने त्यो कारले मानिसको आवश्यकता पुरा गर्न सक्दैन भन्ने मान्यताले हामी नमोबुद्ध गएका थियौं । त्यसमा पनि सूर्यविनायकदेखि धुलिखेलसम्मको अफरोड पनि छिचोल्न पाइने थियो । यी सबै बाटामा चलाएपछि भन्न सकियो, ‘क्यूट-०२ सुन्दर मात्रै होइन, उत्कृष्ट पर्फमेन्स गर्न सक्ने मोडल हो ।’

यसमा रहेका सम्पूर्ण फिचर र ड्राइभिङ अनुभवका लागि तलको फुल भिडियो हेर्नुहोस् ।

थाेरै कमाई हुनेले पनि चढ्न सक्ने

अहिले नेपालमा गाडी किन्ने मानिसको मासिक कमाई उसले किस्ता तिर्ने रकमको दोब्बर हुनुपर्छ । त्यसैले मासिक १ लाखभन्दा धेरै कमाई गर्ने मानिसले पनि मासिक ५० हजारभन्दा बढी किस्ता तिर्नुपर्ने गाडी किन्न कर्जा पाउँदैनन् ।

त्यसमा पनि क्यूट पर्फेक्ट देखिएको छ । यसको मूल्य १९ लाख ९६ हजारबाट सुरु हुन्छ । सुरुवाती भेरियन्टको क्यूट–०२ किन्ने मानिसले ३ लाख ९९ हजार २०० रुपैयाँ डाउन पेमेन्ट गर्दा पुग्छ ।

बाँकी रकम बैंक तथा वित्तीय संस्थाबाट १५ लाख ९६ हजार ८०० रुपैयाँ कर्जा लिनु पर्छ । उक्त रकम ८४ किस्तामा तिर्दा मासिक २४ हजार ८९० रुपैयाँ हाराहारी तिर्दा पुग्छ । उक्त मासिक किस्ता तिर्नेगरी कर्जा लिँदा मासिक ५० हजार कमाई भए पुग्छ ।

मन परेको विषय

पहिलो मनपरेको कुरा नै यसको लुक्स हो । निकै आकर्षक डिजाइन र क्लिन फिनिसिङ यसको सबैभन्दा बलियो पक्ष हो । फ्रन्ट फेसियामा दिइएको हकआई डिजाइनको एलइडी हेडलाइट र क्लोज अफ ग्रिलको कम्बीनेशन उत्कृष्ट छ । फ्लस डोर ह्याण्डल र पछाडि दिइएको एरोडाइनामिक टेलविङले कारलाई अब्बल देखाउँछ ।

इन्टेरियरमा १०.२५ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्कृन र ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर पर्फेक्ट लाग्छ । सेग्मेन्ट फस्ट ३६० डीग्री क्यामरा, कोलुम सिफ्ट गियर सेलेक्टर, ४ वटा हाइफाई स्टेरियो स्पीकर, एयर कन्डिसन, पुस बटम स्टार्ट, टुस्पोक फ्ल्याट बटम स्टेरिङ ह्वीलले लोभ्याउने नै भयो ।

सुधार गरे राम्रो

क्याविनमा मोटरको आवाज केही बढि सुनिन्छ । यदि कम्पनीले यसको मोटर आवाज केही घटाएर ल्याउन सक्ने हो भने क्यूट–०२ नाम जस्तै सुन्दर कार हो ।


Back_to_top