टियागो ईभीमा थपियो एक दर्जन फिचर

काठमाडौं । टाटा मोटर्स इन्डियाले टियागो ईभीको २०२४ मोडल सार्वजनिक गरेको छ । कम्पनीले नयाँ मोडल पुरानै मूल्य कायम राख्दै एक दर्जन बढी फिचर थप गरेर ल्याएको हो ।

कम्पनीले टियागोको माथिल्ला दुई भेरियन्ट एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरीमा नयाँ फिचर थप गरेको हो । फिचर थपिएका दुबै भेरियन्ट लङ रेन्ज मोडल हुन् ।

टाटाले टियागो ईभीमा अटो-डिमिङ आइआरभीएम, ४५ वाटको टाइप सी फास्ट चार्जिङ पोर्ट, एन्ड्रोइड अटो र एप्पल कार प्ले सपोर्ट गर्ने इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ ।

यसका अलावा कुल्ड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, मल्टी लेभल रिजेनेरेटीभ ब्रेकिङ सिस्टम, लेदररेटेड सिट, हर्मनको ८ वटा स्पीकर पनि दिइएको छ । यी फिचरसँगै टियागो थप फिचर लोडेड भएर बजारमा आउन लागेको हो । फिचर थपिएपनि भारतमा यसको मूल्य बढाइएको छैन ।

सुरक्षाको लागि दुई एयरब्याग, इबीडी सहितको एबीएस, पार्किङ सेन्सर, टायर प्रेसर मोनिटर यसमा पाउन सकिन्छ ।

सिप्रदी ट्रेडिङले ७ महिनाअघि नेपाल ल्याएको टियागो ईभीले निकै राम्रो बिक्री पाइरहेको छ । कम्पनीले चाँडै यी फिचर थपिएको मोडल पनि नेपाली बजारमा उपलब्ध गराउने छ ।

नेपाली बजारमा टप भेरियन्ट टियागो ईभीको मूल्य २७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।


Back_to_top