अमेरिकी राष्ट्रपतिको जीप र्‍याङगलर मोह (फोटो फिचर)

विश्व चर्चित र शक्तिशाली अमेरिकी राष्ट्रपति जो वाइडेन कार पारखीको रुपमा चिनिन्छन् । केही दिनअघि उनले जीपको नयाँ हाइब्रिड र्‍याङगलरलाई ह्वाइटहाउसको चौरमा चलाइरहेको तस्विर बाहिर आएको छ ।

‘आजको दिन खराब थिएन ।’ त्यसको केही समयपछि सिल्भर कलरको फोरडोर र्‍याङगलरलाई हर्न बजाएर चलाइरहेको भिडियो पोस्ट गर्दै ७८ वर्षीय वाइडेनले ट्विटरमा लेखे । हेर्नुहोस्, उनको ट्विटर पोस्ट ।

राष्ट्रपतिको टेस्ट ड्राइभ त्यस्तो समयमा भाइरल भएको थियो, जब अमेरिकी प्रशासन र अटोमेकरहरुले सन् २०३० सम्ममा अमेरिकामा विक्री हुनेमध्ये आधा विद्युतीय सवारीसाधन बनाउने महत्वकांक्षी लक्ष्य घोषणा गर्दै थिए । जलवायु परिवर्तनको सामना गर्न पेट्रोलियम इन्धनमाथि मुलुकको निर्भरता कम गर्ने वाइडेनको वाचालाई सहयोग पुग्नेगरी यो घोषणा भएको हो ।

गत बिहीबार, बिडेनले नयाँ लक्ष्यलाई अँगिकार गरेर नयाँ उत्सर्जन मापदण्ड विकास गर्ने योजनालाई सुरु गर्ने कार्यकारी घोषणामा हस्ताक्षर गरेका थिए । ह्वाइटहाउसले यो कदमले ‘ग्राहकको पैसा बचाउने, प्रदुषण घटाउने, सर्वसाधारणको स्वास्थ्यमा सुधार ल्याउने, वातावरणमाथि न्याय गर्ने र जलवायु परिवर्तनको सामना गर्ने’ बताएका छन् ।

वाइडेनले चढेको पूर्ण रुपमा ब्याट्रीबाट चल्न सक्ने हाईब्रिड र्‍याङगलर सन् २०२३ को सुरुबाट बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।
सो दिन ह्वाइटहाउसमा अन्य ब्रान्डका विद्युतीय गाडी पनि पार्क गरिएका थिए तर उनको नजर र्‍याङगलरमाथि नै गयो । ‘यी गाडी हाम्रो भविष्य हो ।’ उनले भनेका थिए, ‘ब्याट्रीका लागि हामी अन्य मुलुकमा निर्भर हुनु परिरहेको छ । हामीले त्यसलाई यहीँ अमेरिका मै बनाउनुपर्ने हुन्छ ।’

गत मेमा आयोजना गरिएको एक कार्यक्रममा राष्ट्रपतिले आफूलाई ‘म जो वाइडेन हुँ र म कारप्रेमी हुँ’ भनेर चिनाएका थिए । उनले परिचय दिएझैं उनीसँग कारहरुको राम्रो संग्रह रहेको छ । त्यसमध्ये सन् १९६७ को सेभ्रोलेट कर्भेट हो जुन उनका बुबाले उनको विवाहको बेला उपहार दिएका थिए ।


Back_to_top