काठमाडौं । आज फेब्रुअरी १४ अर्थात ‘भ्यालेन्टाइन डे’ । प्रेमप्रेमीकाले एक अर्कामा शुभाकामना आदान प्रदान गर्दै मनाइँदै आइएको छ ।
आज हामीले कुरा गर्न खोजेको भने मानिस र मोटरसाइकल बीचको प्रेमको कुरा हो । मोटरसाइकलमा रमाउनेहरूले आफ्नो मोटरसाइकललाई औधि माया गर्ने गर्छन । यसको मतलब आफ्नो मोटरसाइकलसँग मानिसको धेरैनै लगाव हुने गर्छ ।
केही दिन अघि मात्रै १२.५० करोडमा १३५ वर्ष पुरानो मोटरसाइकल विक्री भएको छ । यो पनि एक मोटरसाइकल प्रेमीले १३५ वर्षसम्म मोटरसाइकल माया गरेर राख्नु र अर्काले ठूलो धनराशी तिरेर मोटरसाइकल किन्नु पनि एक किसिमले मोटरसाइकल प्रतिको माया नै हो ।
हामीले मोटरसाइकलसँग कसरी प्रेम दिवस मनाउन सकिन्छ भन्ने बारेमा चर्चा गर्नेछौं । यो चर्चा मोटरसाइकल मात्र होइन कार चलाउनेका लागि पनि हुन सक्छ । कारमा चासो राख्नेले आफ्ना कारलाई पनि उत्तिकै माया गर्ने गर्छन ।
१. रेखदेख गर्ने
आफ्नो मोटरसाइकललाई सधैं रेखदेख तथा मर्मत सम्भार गर्नु पर्छ । तर, आज विशेष दिन भएका कारण आफ्नो मोटरसाइकललाई समय दिएर हेर्नुस र कहि कतै डेन्ट (स्क्रयाच) लागेको छ भने त्यसलाई पेन्ट गर्ने तथा कुनै पार्टमा खराबी छ भने त्यसलाई परिर्वतन गर्नुहोस्् । कुनै पार्टस् यस्ता हुन्छन् जुन टुटफुट भएर पनि फेरिहाल्नु नपर्ने हुन्छ । त्यस्ता पार्टलाई पनि परिवर्तन गरिदिनुस्् ताकी मोटरसाइकल आकर्षक देखियोस ।
२. सुन्दरतामा ध्यान दिनुस्
आजको दिनमा मोटरसाइकललाई राम्रोसँग वासिङ गर्नुहोस् । सकेसम्म आफैंंले वास गर्नुहोस्् । यसले तपाईंंलाई आफ्नो मोटरसाइकलसँग आत्मीय बनाउँछ । सफा मोटरसाइकल आफैंमा सुन्दर देखिन्छ ।
३. गिफ्ट दिनुस्
तपाईं आफ्नो मोटरसाइकलसँग प्रेम गर्नुहुन्छ भने मोटरसाइललाई गिफ्ट किनिदिनुहोस्् । गिफ्टका रूपमा तपाईं केही स्टिकर तथा की रिङहरू किन्नुहोस् । इन्धन ट्याङ्क तथा भाइजरमा सुहाउँदो स्टिकर टाँस्दा मोटरसाइकल अझै सुन्दर देखिन्छ । नेपालमा मोडिफिकेशन गर्न नमिल्ले कुरालाई ध्यान दिएर सामान्य केही परिर्वत गराउन सक्नुहुन्छ ।
४. मोटरसाइकलसँग डेट जानुस्
भ्यालेन्टाइनको दिन डेट नजाने त कुरै भएन । डेट भन्ने बित्तिकै मानिससँग मात्र भन्ने हुन्न नि । हामीले चर्चा नै मोटरसाइकलसँग भ्यालेन्टाइन मनाउने गर्र्दैछौं । साँझपख वा आफूलाई मिल्ने समयमा आफ्नो मोटरसाइकलमा रमाइलो लाग्ने स्थानमा जानुस् ।
अनि केही त खानै पर्यो । मोटरसाइकललाई फुल ट्याङ्क पेट्रोल हालिदिनुस् । ए अनि गुलाफको फूल लिन नभुल्नु नि प्रेमिका (मोटरसाइकल) रिसाउन सक्छिन् । अनि मोटरसाइकलसँग एकछिन समय बिताएर केही फोटो खिच्नुस् ।
तपाईंले यसरी पनि आफ्नो मोटरसाइकलसँग प्रेम दिवस मनाउन सक्नुहुन्छ । संसारभर मोटरसाइकललाई फिमेल (स्त्री लिंग) को रूपमा मान्ने गरिन्छ ।

