भिनफास्टले एकैपटक बजारमा ल्यायो तीन नयाँ इलेक्ट्रीक स्कुटर

काठमाडौं । भियतनामी इलेक्ट्रीक भेहिकल निर्माता भिनफास्टले एकैपटक तीन नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ ।

कम्पनीले भारतीय बजारमा ईभो, फेलिज टू र भाइपर नामक तीन मोडलका इलेक्ट्रीक स्कुटर लन्च गरेको हो । कम्पनीले भारतमा पहिलो पटक ल्याएका यी तीनै स्कुटर ब्याट्री स्वापेबल सिस्टममा आधारित छन् ।

बजारमा आएका यी तिनै मोडललाई फरक-फरक प्रयोगका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । भिनफास्टको भाइपर सबैभन्दा प्रिमियम मोडल हो । यसमा ३००० वाटको बीएलडीसी इन हब मोटर रहेको छ । यसको टप स्पीड ७० किलोमिटर प्रतिघण्टा छ ।

भाइपरमा स्मार्ट की सिस्टम, एड्भान्स चेसिस, एलईडी प्रोजेक्टर हेड्ल्याम्प, साधनको लोकेसन ट्रयाकिङ सिस्टम, रिमोर्ट सर्च र चोरी नियन्त्रण सुविधाहरू छन् ।

फेलिज टूमा भाइपरकै समान मोटर पावर दिइएको छ । यसको टप स्पीड पनि उस्तै छ । कम्पनीले ईभोमा भने २ हजार ४५० वाटको इन हब मोटर दिएको छ । इभोको टप स्पीड पनि ७० किलोमिटर प्रति घण्टा नै पाइन्छ ।

यी तीनवटै स्कुटरको सिट मुनि डबल ब्याट्री स्लट दिइएको छ । कम्पनीले यी स्कुटरमा १.५ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरेको छ । दुई ब्याट्री प्रयोग गर्दा ईभोले १६५ किलोमिटर रेन्ज दिन्छ भने, भाइपर र फेलिज टूले १५६ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।

भिनफास्टले तीन मोडल सार्वजनिक गरे पनि ईभो मोडलको मात्र बुकिङ खुलाएको छ । साथै कम्पनीले गहकलाई शून्य डाउन पेमेन्ट, सीमित समयका लागि मूल्य छुट, सुरुवाती महिनाहरूमा निःशुल्क ब्याट्री स्वापिङ र सन् २०२७ को मध्यसम्म सार्वजनिक चार्जिङ स्टेशनहरू निःशुल्क प्रयोग गर्न पाउने आकर्षक सुविधा उपलब्ध गराएको छ ।

साथै, भिनफास्टले ईभो लाइट मोपेड टाइपको मोडल पनि बजारमा ल्याएको छ । यसको टप स्पीड ५० किलोमिटर प्रति घण्टाभन्दा कम रहेको छ ।

भिनफास्टले आफ्नो ब्याट्री स्वाप इकोसिस्टमलाई तीव्र रूपमा विस्तार गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार हाल ४ हजार ५०० ब्याट्री स्वाप स्टेशन संचालनमा छन् भने सन् २०२६ को पहिलो त्रैमासिकको अन्त्यसम्म ३४ प्रान्त र शहरहरूमा करिब ४५ हजार हाराहारी ब्याट्री स्वाप स्टेशन स्थापना गर्ने लक्ष्य राखेको छ ।

भिनफास्टले केही महिना अघि मात्रै दुई इलेक्ट्रीक एसयूभी सार्वजनिक गर्दै भारतीय बजारमा पहिलो पटक प्रवेश गरेको थियो ।


Back_to_top