काठमाडौं । जर्मन ब्राण्ड फक्सवागेनले कम्प्याक्ट सेडान कार सेग्मेन्टमा भारतमा बनेको ‘भर्टुस’ मोडल नेपाल ल्याउने भएको छ । कम्पनीले साउन २१ गतेबाट सुरु हुने नाइमा मोविलिटी एक्सपोमा भर्टुस सार्वजनिक गर्ने भएको हो ।
जर्मन ब्राण्ड फक्सवागेनले भारतमा उत्पादन गरेको भर्टुसमा १.० लिटर टीएसआई इन्जिन रहने छ । फक्सवागेनले यसअघि टाइगुनमा दिएको उक्त इन्जिन टर्बो चार्ज्ड, थ्री सिलिण्डर हो ।
फक्सवागनले आफ्नो नयाँ सेडान भर्टुसको अगाडिको डिजाइन निकै सार्प बनाएको छ । कम्पनीको ‘लेटेस्ट डिजाइन ल्याङ्वेज’मा आधारित रहेर तयार भएको भर्टुसमा स्लीक र्यापअराउण्ड हेडलाइट दिइएको छ । कम्पनीले भर्टुसको ग्रिल र बम्परमा टेस्टफुल क्रोम एसेन्टको प्रयोग गरेको छ ।
भर्टुसको लम्बाइ ४ हजार ५४१ एमएम, चौडाइ १ हजार ७५२ एमएम र उचाइ १ हजार ४८७ एमएम छ । यसमा २ हजार ६५१ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । कारमा ५२१ लिटरको बुट स्पेस छ ।

निकै मोर्डन क्याविन लेआउट भएको भर्टुसमा १० इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, थ्री स्पोक स्टेरिङ ह्वील, ८ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ । साथै, सनरुफ, वायरलेस चार्जर, ८ वटा स्पीकरसहितको अडियो सिस्टमले युवाहरुको आकर्षण बढाउन सक्छ ।
फक्सवागेनले भर्टुसमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सिट, ६ वटा एयरव्याग, अटोमेटीक हेडल्याम्प र वाइपर, टायर प्रेसर मोनिटरिङ सिस्टम, हिलहोल्ड कन्ट्रोल, एम्बियन्ट लाइट, कुल्ड ग्लोबवक्स, टीपीएमएस, इएससी, इडीएस जस्ता आधुनिक फिचर उपलब्ध छ ।
नेपाली बजारमा पुजा इन्टरनेशनलले बिक्री वितरण गर्ने भर्टुस सेडानको मूल्य ५५ लाख हाराहारी पर्ने अनुमान गरिएको छ ।

