काठमाडौं । जर्मन कार निर्माता फक्सवागेनले नयाँ कार ‘एभ्री-वान’ देखाएको छ । सबैले चढ्न सक्ने विद्युतीय कार भन्ने बुझाउन नै कम्पनीले नाम नै ‘एभ्री-वान’ राखेको अनुमान गरिएको छ ।
विश्वकै दोस्रो ठूलो कार निर्माता फक्सवागेनले यसलाई आफ्नो इलेक्ट्रीक मोडलको आईडी सिरिजको सबैभन्दा सस्तो कारको रुपमा बजारमा ल्याउने छ । सन् २०२७ बाट बिक्री सुरु गर्ने लक्ष्यका साथ फक्सवागेनले आईडी सिरिज भित्रै एभ्री-वानलाई अटाउन लागेको हो ।
यसको मूल्य पनि निकै प्रतिस्पर्धी हुने अनुमान गरिएको छ । युरोपियन जाइन्टले यसको टप स्पीड पनि १३० किलोमिटर प्रतिघन्टा मात्रै रहने जनाएको छ ।
एभ्री-वानमा रहने अधिकांश फिचरबारे जानकारी दिएको फक्सवागेनका अनुसार नयाँ मोडलमा ७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइनेछ । ठ्याक्कै यसमा २५० किलोमिटर रेन्ज दिने ब्याट्री रहने भनिएको छ । तर, ब्याट्री साइजको विषयमा केही खुलाइएको छैन ।
चार जनाले आरामदायी यात्रा गर्न सक्ने एभ्री-वान मोडलमा ३०५ लिटरको बुट स्पेश पाउन सकिन्छ । टाटा पन्चको जस्तै ३८८० एमएम लामो नयाँ इलेक्ट्रीक माेडल ह्याचव्याक डिजाइनमा आउने देखिन्छ । फक्सवान एभ्री वान नेपालको लागि पनि उपयुक्त मोडल हुने देखिन्छ ।


