काठमाडौं । फक्सवागनले अहिले विश्व बजारमा मिड साइज सेडान सेग्मेन्टमा भेन्टो र पोलोको विक्री गर्दै आएको छ । नेपालमा पनि फक्सवागनले भेन्टो मिड साइज सेडान र पोलो ह्याचव्याक विक्री गर्दै आएको छ । तर, कम्पनीले अब भने भेन्टोलाई बिस्थापन गर्न भर्टोस मोडल ल्याउने भएको हो ।
नेपाली बजारमा पनि फक्सवागन भेन्टोको स्थानमा भर्टोस आउने अनुमान गरिएको छ । भारतमा उत्पादन भएर भेन्टो नेपाल आइरहेको छ । यस्तोमा भारतमा पनि भेन्टोलाई भर्टोसले बिस्थापन गर्ने पक्का पक्की रहेको छ ।
भर्टोस फक्सवागन ग्रुपको नयाँ प्ल्याटफर्म ‘एमक्यूबी ए जेरो’मा उत्पादन हुने छ । नयाँ प्ल्याटफर्मकै कारण भेन्टोको तुलनामा भर्टोसको साइज केही ठूलो रहने छ । भेन्टोभन्दा ९२ मिलिमिटर लामो, ५२ मिलिमिटर फराकिलो र ६ मिलिमिटर अग्लो साइजमा भर्टोस आउने छ । यसको ह्वीलवेस पनि ९८ एमएमले लामो रहने छ । यही कारण भेन्टोभन्दा भर्टोसको क्यावीन ठूलो र फराकिलो हुने छ ।
पूर्णत नयाँ डिजाइनमा तयार भएको भर्टोसमा केही पार्टस् नयाँ जेनेरेशन पोलोबाट लिएको देख्न सकिन्छ । अगाडिको ग्रिल, बम्पर र छत नयाँ जेनेरेशन पोलोको जस्तै देखिन्छ । बी पिलरबाट उताको भाग भने फरक डिजाइनमा पाउन सकिन्छ ।
अहिले विक्री वितरण भइरहेको भेन्टोको तुलनामा भर्टोस फिचर लोडेड रहने छ । यसमा १०.२५ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, भिडब्ल्यू प्ले इन्फोटेन्टमेन्ट सिस्टम, कनेक्ट कार टेक्नोलोजी, अटोमेटिक क्लाइमेट कन्ट्रोल, किलेस इन्ट्री, अगाडि र पछाडि नै पार्किङ सेन्सर जस्ता फिचर यसमा ग्राहकले पाउन सक्ने छन् ।
अन्तर्राष्ट्रिय बजारमा १.६ लिटर फोर सिलिण्डर, एमएसआई र १.० लिटर थ्रि सिलिण्डर, टर्बो टिएसआई इन्जिनमा उपलब्ध हुने छ । संभवत नेपाली बजारमा १.० लिटर टिएसआई इन्जिनमा भर्टोस आउने छ । अहिले भेन्टो पनि यही इन्जिनमा उपलब्ध रहेको छ । सन् २०२२ मा बाट यसको विक्री नेपाली बजारमा हुने अनुमान गर्न सकिन्छ ।


