काठमाडौं । भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी टीभीएसले ३१० सीसी क्षमताको प्रिमियम मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले अपाचे आरआर ३१० मा आधारित नयाँ मोटरसाइकल ल्याउने भएको हो ।
कम्पनीले ल्याउने नयाँ मोटरसाइकल नेकेड स्ट्रीट फाइटर वा एड्भेन्चर टुटर मध्ये एक हुनेछ । तर, अहिलेसम्म कस्तो डिजाइनमा आउछ भन्ने जानकारी दिइएको छैन ।
जर्मन मोटरसाइकल निर्माता कम्पनी बिएमडब्ल्यूसँगको सहकार्यमा कम्पनीले ३१० सीसी सेग्मेन्टमा ३ मोडल उत्पादन गरिरहेको छ, जसमा बीएमडब्ल्यू ब्राण्डमा दुई र टीभीएस ब्राण्डमा एउटा मोडल रहेको छ । नयाँ आउने चौथो मोडल हुनेछ ।
बीएमडब्ल्यूले यही इन्जिनमा ‘जि ३१० आर’ नेकेड जिजाइन र ‘जि ३१० जीएस’ एड्भेन्चर टुरर डिजाइनमा निर्माण गरेको थियो ।
बीएमडब्ल्यूका यी दुबै मोडल नेपाली बजारमा पनि विक्री वितरण भइरहेको छ । टीभीएसले भने स्पोर्टस डिजाइनमा आरआर ३१० उत्पादन र विक्री गर्दै आएको छ । आरआर ३१० पनि नेपाली बजारमा उपलब्ध रहेको छ ।
सन् २०२० डिसेम्वरमा मिडियालाई अन्तर्वार्ता दिने क्रममा कम्पनीका डाइरेक्टर तथा सिइओ के.एन राधाकृष्णनले २०२१ मा कम्पनीले ३१० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने बताएका थिए । उनका अनुसार यो मोटरसाइकल बीएमडब्ल्यूको सहकार्यमा नै निर्माण हुनेछ ।
नयाँ आउने मोटरसाइकलमा ३१२.२ सीसी रिर्भस इनक्लाइन लिक्वीड कुल्ड इन्जिन रहने छ । यसमा ६ स्पीड गियरबक्स रहेने छ । यो इन्जिनले ३४ पीएस पावर तथा २७.३ एनएम टर्क जेनेरेट गर्छ ।


