नयाँ ईभी प्लान्ट थप्दै फक्सवागेन, यस्तो छ नेपालमा ईभी बेच्ने योजना

काठमाडौं । जर्मन कार निर्माता फक्सवागेनले विद्युतीय सवारी उत्पादनमा लगानी बढाउँदै लगेको छ । कम्पनीले विश्वब्यापी रुपमा ब्याट्री ईभीको माग बढ्दै गएसँगै नयाँ प्लान्ट थप गर्न लागेको हो ।

फक्सवागेन ग्रुप र यसको ब्याट्री उत्पादन कम्पनी ‘पावरको’ले ब्याट्री सेल उत्पादनका लागि संयुक्त रुपमा आफ्नो पहिलो विदेशी फ्याक्ट्री स्थापना गर्ने भएको हो ।

उक्त प्लान्ट क्यानडाको ओन्टारियो स्थित सेन्ट थोमसमा निर्माण हुनेछ । यसमा सवारी उत्पादन भने २०२७ बाट सुरु हुने बताइएको छ ।

पावरकोका सुपरभाइजरी बोर्डका अध्यक्ष थोमस स्मलले क्यानाडा र ओन्टारियो ब्याट्री व्यवसाय र ग्रिन इकोनोमीमा रोजगारी बढाउनका लागि निकै राम्रो साझेदार रहेको बताए । उनले सहकार्य र जिम्मेवारीमा दुवै कम्पनी प्रतिवद्ध रहेको धारणा व्यक्त गरे ।

प्लान्ट निर्माणका लागि कम्पनीले गएको वर्ष क्यानाडा सरकारसँग उपयुक्त स्थान पहिचान गर्न काम गर्नका लागि एक सम्झौंतामा हस्ताक्षर गरेको थियो ।

उक्त सम्झौंता अनुसार क्यानडा सरकारले प्लान्टका लागि आवश्यक कच्चा पदार्थ र एसेम्बली लगायत फक्सवागनको ब्याट्री आपूर्ति चेनमा योगदान गर्ने उल्लेख गरिएको छ ।

कहिले आउँछ फक्सवागेनका ईभी नेपालमा ?

विश्वकै तेस्रो ठूलो ईभी उत्पादकसँग अहिले पनि थुप्रै ईभी मोडल अन्तर्राष्ट्रिय बजारमा उपलब्ध रहेका छन् । तर, नेपाल सरकारले ईभीको लागि आवश्यक कानुनी ब्यवस्था पुरा नगरेको कारण गाडी नेपाल ल्याउन नसिकएको आयातकर्ता कम्पनी पुजा इन्टरनेशनल स्रोतले जानकारी दिएको छ ।

‘हामी ईभी ल्याउन तयार छौं । पुरानो लिथियम ब्याट्री व्यवस्थापन र फायर सेफ्टीमा सरकारको तयारी र कानुनी ब्यवस्था कस्तो छ भनेर हामीलाई सोधिएको छ । त्यसको प्रस्ट जवाफ दिन सकिएको छैन’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

सुन्दा सामान्य लाग्ने यी दुई विषयमा कानुनी आधार तयार नभएसम्म फक्सवागेनका ईभी कहिले आउँछ भन्ने एकिन गर्न सक्ने देखिदैन ।


Back_to_top