अटो शोमा बिक्रेताले गाडी बेच्छन्, उपभोक्ताले के पाउँछन् ?

काठमाडौं । नेपालमा एक साताको अन्तरमा दुई अटो शो हुँदै छन् । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आयोजना गर्दैछ । गत वर्ष मात्रै स्थापना भएको नाइमाको यो दोस्रो संस्करण हो । जहाँ ५५ ब्राण्डका ५१ स्टल रहने छन् ।

त्यस्तै, नाडा अटोमोबाल्स एशोसिएसन अफ नेपालले भदौ ९ गतेदेखि १४ गतेसम्म भृकुटीमण्डपमै ‘नाडा अटो शो २०२६’ आयोजना गर्दैछ । ५ दशकको लिगेसी बोकेको नाडाको यो १८ औं संस्करणको अटो शो हो । यस वर्ष नाडामा ५१ अटो ब्राण्ड र २०० बढी स्टल रहने छन् ।

मूलभूत रूपमा नाडा अटो शो र नाइमा मोबिलिटी एक्स्पो एउटै हुन् । तात्तिक भिन्नता छैन । अटो शोको प्रकृति, स्थान, अधिकांश सहभागी ब्राण्ड एउटै छन् । फरक छ त केवल आयोजक संस्थाको नाम र मिति मात्र । २ वर्ष अघिसम्म नेपालमा एउटै नाडा अटो शो हुन्थ्यो । सबै व्यवसायी त्यहीँ सहभागी हुन्थे । गत वर्षदेखि नाडाबाट व्यवसायी ‘फुटेर’ नाइमा जन्माएसँगै फरक फरक अटो शो हुन लागेको हो ।

व्यवसायिक तथा आर्थिक हिसाबले धेरै अटो हुनु राम्रै होे । व्यवसायिका लागि नयाँ मोडल लन्च गर्ने र व्यापार बढाउने थलो बन्छ । जहाँ ग्राहक तान्न आकर्षक छुट समेत घोषणा गर्छन् । अटो शोमा छुट बाहेक उपभोक्ताले चाहिँ के पाउँछन् त ?

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती अटो शो व्यवसायी र उपभोक्ता जोड्ने पुल भएको बताउँछन् । यसले व्यवसायी र उपभोक्ता दुवैलाई फाइदा पुर्याउने उनले बताए ।

अटो शोले उपभोक्ताको समय बचत, एउटै ठाउँमा धेरै ब्राण्ड बारे बुझ्ने/जान्ने, प्रतिस्पर्धाका कारण धेरै छुट पाउने, बिक्रेताले दिने वारेन्टी/सेवाको बारेमा गुनासो गर्ने लगायत अवसर पाउने उनले बताए । साथै, सडक सुरक्षा, नयाँ प्रविधि, ई मोबिलिटी, अटो क्षेत्रको इको सिस्टम, स्पेयर पार्टस्, चार्जिङ पूर्वाधार लगायत विषयमा बुझ्ने अवसर पाउने उनको भनाइ छ ।

‘अटो शो व्यवसायी र उपभोक्ता दुवैलाई जोड्ने थलो हो । व्यवसायीले आफ्नो प्रोडक्ट देखाउँछन् । उपभोक्ताले सबै ब्राण्ड मोडल एकै ठाउँमा हेर्न/बुझ्न पाउँछन् । शोरुम शोरुम डुल्नु पर्दैन । यसले समयको बचत गराउँछ । व्यवसायी बीच हुने प्रतिस्पर्धाले राम्रो छुट पाउँछन्,’ उनले मेरोअटोसँग भने,’ ‘साथै, विगतमा दिएको वारेन्टी, बिक्रीपछिको सेवा चित्त नबुझेमा गुनासो गर्न पाउँछन् । व्यवसायी र उपभोक्ता दुवैलाई लाभदायक हुन्छ ।’

नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्य उपभोक्ताले धेरै ब्राण्ड एकैठाउँमा छनोट गर्ने विकल्प पाउने बताउँछिन् । साथै, उपभोक्ताले बैंकिङ, बीमा सुविधा, सुरक्षा, चार्जिङ इन्फ्रास्ट्क्टर, ट्राफिक म्यानेजमेन्ट एप्स लगायत विषयमा जानकारी पाउने बताइन् ।

‘नाइमामा ५५ वटा ब्राण्ड सहभागी छन् । ४० वटा नयाँ लन्च छ । योभन्दा एउटा कस्टमरलाई के चाहिन्छ,’ उनले भनिन्, ‘साथै, अटो शोलाई व्यवस्थित बनाएर ब्यांकिङ, इन्स्योरेन्स, सेक्युरिटी इस्यु, चार्जिङ इनफ्रास्ट्रक्चर, ट्राफिक म्यानेजमेन्ट एप्स लगायत बारेमा जानकारी दिन्छौं ।’ उनले नाइमाको हरेक दिनमा विभिन्न विषयमा जानकारी दिन नलेज सिरिज आयोजना गरिने उनको भनाइ छ ।

‘एउटा मेला मात्रै हो, उपभोक्ताले वास्तविक लाभ पाउँदैनन्’

व्यवसायीले अटो शोको फाइदै फाइदा मात्र देख्दा केही उपभोक्ता अधिकारीवादीले भने यो केबल गाडी किनबेच गर्ने थलोमा रूपमा मात्र बुझ्ने गरेका छन् । नेपालमा हुने अटोमा उपभोक्ताले उत्पादकको फ्युचर प्लान, कन्सेप्ट मोडल, नयाँ प्रविधि लगायत बारेमा जानकारी नै नपाउने बताउँछन् ।

राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना नेपालमा आयोजना हुने अटो शो केवल व्यापारिक मेलामा मात्रै सीमित रहेकाले उपभोक्ताले वास्तविक लाभ नपाउने बताउँछन् । बिक्रेताहरूले अटो शोमा छुट घोषणा गरे पनि सवारीको मूल्य निर्धारण प्रक्रिया पारदर्शी नरहेकाले उक्त छुट वास्तविक हो, होइन थाहा नहुने बताए ।

‘हरेक वर्ष हुने अटो शोबाट उपभोक्ताले वास्तविक लाभ पाउँदैनन् । बिक्रेताले ठूलो प्रचारप्रसार गरी यति छुट छ, उति छुट छ भन्छन् । तर, त्यसको कुनै अर्थ छैन । किनभने, यहाँ सवारीको मूल्य कसरी निर्धारण हुन्छ । थाहा छैन । पारदर्शी र वैज्ञानिक विधि नै छैन,’ उनले भने, ‘अपारदर्शी रूपमा निर्धारण भएको मूल्यमा दिइएको छुट वास्तविक हुँदैन । उपभोक्तालाई भ्रममा पार्ने काम मात्रै हो । यो विशुद्ध व्यापारिक मेला हो । जसरी हुन्छ व्यापार गर्ने ।’

अटोमोबाइल क्षेत्र आम जनतासँग जोडिएको विषय भए अटो शोले प्रत्यक्ष लाभ नपुर्याउने उनको बुझाइ छ । उल्टो उपभोक्ता पीडित हुने गरेको गुनासो सुनिएको उनले बताए । ‘व्यवसायीले अटो शोमा गाडी बुक गर्नेसँग पैसा लिन्छन् । तर, समयमै डेलिभरी पाउँदैनन् । बरू बिक्रीपछि समयमै सर्भिस, स्पेयर पार्टस लगायत सुविधा उपलब्ध नगराएको गुनासो सुनिन्छ,’ उनले भने ।

उपभोक्ताले अफरको पछि नलागी रिसेल भ्यालु, बिक्रीपछिको सेवा र स्पेयर पार्टस्काे उपलब्धता ध्यानमा राखेर निर्णय लिनु बुद्धिमानी हुने उनको भनाइ छ । अटो शोमा हुने गतिविधि वाणिज्य विभाग, जिल्ला प्रशासन लगायत राज्य निकायले अनुगमन समेत गर्नुपर्ने उनले बताए ।

त्यस्तै, केहीले वार्षिक १५ हजार हाराहारी कार बिक्री हुने देशमा एक साताकै अन्तरमा दुई अटो शो आयोजना हुनुको औचित्य नै नरहेको बताउँछन् ।


Back_to_top