काठमाडौं । ‘वर्ल्ड कार अफ दी इयर २०२५’को विजेता घोषणा भएको छ । ‘डब्लूकोटी’ अवार्ड नामले चिनिने उक्त अवार्ड यस वर्ष किया ईभी–३ ले जितेको हो ।
दक्षिण कोरियाली कम्पनी कियाको ईभी-३ ले बीएमडब्लू एक्स-३ र हुन्डाई इन्स्टर ईभीलाई उछिनेर वर्ल्ड कार अफ दी इयरको अवार्ड जितेको हो । कियाले यसअघि २०२० मा टेलुराइड र २०२४ मा ईभी-९ बाट पनि डब्लूकोटी अवार्ड आफ्नो हात पारिसकेको छ ।
कार अफ दी इयरमा समावेस हुने कार एक वर्षमा कम्तीमा १० हजार युनिट उत्पादन भएको हुनुपर्छ । साथै, यसको मूल्य पनि लग्जरीको तुलनामा कम हुनुपर्ने ब्यवस्था गरिएको छ ।
अहिले चीन, युरोप, भारत, जापान, कोरिया, ल्याटिन अमेरिका र अमेरिका मध्ये कम्तीमा दुई भुभागमा बिक्री भएको हुनुपर्नेछ । जनवरी १, २०२४ देखि ३० मार्च २०२५ सम्म उत्पादन भएका मोडल वर्ल्ड कार अफ दी इयरको प्रतिस्पर्धामा थिए ।
किया ईभी-३ ले वर्ल्ड कार अफ दी इएर पाएको हो । साथै, वर्ल्ड अर्वान कार अफ दी इयर २०२५ को अवार्ड बीवाइडी सिगलले पायो । कम मूल्यको कारण बीवाइडी सिगल चर्चामा रहेको मोडल हो । उसले हुन्डाई इन्स्टर ईभी र मिनी कुपर ईभीलाई उछिनेर अवार्ड जितेको हो ।
२०२५ वर्ल्ड लग्जरी कार अफ दी इयरको अवार्ड भोल्भो ईएक्स-९० ले पायो । भोल्भोले पोर्श्चे म्याकन र पानामिरालाई उछिनेर अवार्ड हात पारेको हो ।
पोर्श्चे ९११ जीटीएसले २०२५ वर्ल्ड पर्फमेन्स कार अफ दी इयर अवार्ड जित्यो । उसले बीएमडब्लू एम फाइभ र पोर्श्चेकै टायकनलाई उछिनेर अवार्ड आफ्नो नाममा पारेको हो ।
२०२५ वर्ल्ड इलेक्ट्रीक भेहिकल अफ दी इयर अवार्ड हुन्डाई इन्स्टरले जित्यो । उसले किया ईभी-३ र पोर्श्चे म्याकन इलेक्ट्रीकलाई उछिनेको हो ।
वर्ल्ड कार डिजाइन अफ दी इयर अवार्ड फक्सवागेन आइडी बजले जित्यो । उसले किया ईभी-३, टोयोटा ल्याण्ड क्रुजर एलसी ३०० र एलसी २५० लाई उछिनेर अवार्ड हात पारेको हो ।
सन् २०२५ वर्ल्ड कार पर्सन अफ दी इयर अवार्ड बीवाइडीका कार्यकारी भाइस प्रेसिडेन्ट स्टेला लीले प्राप्त गरिन् ।

