काठमाडौं । चीनले आफ्ना ब्याट्री उत्पादकहरुको लागि नयाँ सुरक्षा मापदण्ड जारी गरेको छ । चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रालयले २०२६ जुलाई १ बाट लागु गर्नेगरी नयाँ सुरक्षा मापदण्ड जारी गरेको हो ।
नयाँ सुरक्षा मापदण्ड अनुसार हाइभोल्टेज ब्याट्रीमा हुन सक्ने आन्तरिक थर्मल रनअवे भइहालेको खण्डमा पनि आगलागी हुन र विस्फोट हुनबाट बचाउनु पर्ने हुन्छ ।
त्यसैले नयाँ मापदण्ड अनुसार उत्पादन हुने ब्याट्रीले थर्मल डिफ्यूजन अनिर्वाय रुपमा परीक्षण गराउनु पर्नेछ । अहिले भइरहेको ब्यवस्था अनुसार आगो लाग्नु वा विस्फोट हुनु ५ मिनेट अगाडि चेतावनी जारी गर्नु पर्ने थियो । नयाँ नियम अनुसार आगलागी वा विस्फोट दुबै घटना कुनै पनि अवस्थामा हुनु हुँदैन ।
थर्मल रनअवे भएको खण्डमा त्यसवाट निस्कने धुवाँले पनि कुनै पनि यात्रुलाई क्षती गर्नु हुँदैन । त्यसको लागि विस्फोट र आगलागी नहुने बनाउनु पर्छ ।

यसका अलावा गाडीको तल्लो भागमा लाग्ने टक्करबाट बच्न पनि परीक्षण गरिने भएको छ । त्यसको लागि गाडीको तल्लो भागको बलियोपन परीक्षण हुनेछ ।
अर्को महत्वपूर्ण कुरा गाडीको चार्जिङ समयमा हुने आगलागी वा विस्फोटको पनि परीक्षण हुनेछ । चीन सरकारको उक्त निर्णयले उपभोक्ता सुरक्षालाई विशेष ध्यान दिएको बुझ्न सकिन्छ ।
सरकारले अहिले ल्याएको मापदण्ड अनुसार सीएटीएलले ब्याट्री उत्पादन गरिरहेको जनाएको छ । कम्पनीका अनुसार उसले सन् २०२० देखि नै ‘नो थर्मल प्रोप्यागेशन प्रविधि’मा ब्याट्री बनाइरहेको छ ।
चीन सरकारले उपभोक्ता सुरक्षामा ध्यान दिएर उक्त नियम बनाएको हो । तर, उक्त मापदण्ड बनाउनुको पछाडि अघिल्लो महिना साओमी एसयू-७ मा भएको आगलागीमा हाईप्रोफाइल मानिस परेपछि रहेको धेरैको बुझाई छ ।
नेपाल जस्तो चिनियाँ कारले डोमिनेट गरेको बजारमा चीन सरकारले बनाएको नयाँ नीति हाम्रा लागि पनि फाइदाजनक हुनेछन् ।


